जनता टाइम्स

१ असार २०७७, सोमबार १३:१९

भारतीय रक्षा मन्त्री सिंहको बयान : ‘कसरी भारत र नेपालको सम्बन्ध टुट्न सक्छ ?’


काठमाडौं, असार १

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताबाटै टुंगो लगाउने बताउनु भएको छ । उहाले नेपालसँग रोटी–बेटीको सम्बन्ध रहेको बताउदै दुनियाको कुनै तागतले यसलाई तोड्न समेत नसक्ने बताउनु भएको हो ।

वार्ताका लागि नेपालले पटक पटक गरेको आग्रहलाई आलटाल गर्दै आएको भारतका तर्फबाट पछिल्लो समयमा कुनै उच्च अधिकारीले दिएको यो आधिकारिक बयान हो । उत्तराखण्ड जनसंवाद रैलीको विडियो कन्फ्ररेन्समार्फत सम्बोधन गर्दै उहाले लिपुलेख जाने सडक भने भारतकै भूमिमा बनाएको दावी गर्नुभएको छ । ‘भारत–नेपालबीच यदि कुनै गलतफहमी छ भने हामी त्यसलाई वार्ताकै माध्यमबाट समधान गर्छौं’, रक्षामन्त्री सिंहको भनाई छ ।

उहाले सम्वोधनमा भन्नुभयो, ‘हाम्रो यहा गोरखा रेजिमेन्टले समय समयमा आफ्ना शौर्यको परिचय दिदै आएको छ । सो रेजिमेन्टको उद्घोष छ, जय महाकाली आयो रे गोरखाली । महाकाली कलकत्ता, कामाख्या र विंध्यांचलमा रहेको छ । त्यसैले कसरी भारत र नेपालको सम्बन्ध टुट्न सक्छ ?’

रक्षामन्त्री सिंहले मानसरोवर जाने यात्रुका लागि लक्षित गरेर सो सडक निर्माण गरेको बताउनु भयो । यद्यपी उहाले नेपालले जारी गरेको नक्साका विषय र कहिले वार्ता हुने विषयमा भने केही खुलाउनु भएको छैन ।