जनता टाइम्स

२ असार २०७७, मंगलवार ०९:१४

संक्रमितसँगै नेपालमा कोरोना जित्नेको संख्या पनि बढदै, निको भएर एक हजार बढी घर फर्किए


काठमाडौं, असार २ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण बढेसँगै कोरोना जितेर घर फर्कनेको संख्या पनि बढदै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमा परेका ६७ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वरका अनुसार विभिन्न अस्पतालमा उपचाररत रहेका ६० पुरुष र सात जना डिस्चार्ज भएका हुन । गौतमका अनुसार कोभिड– १९ अस्पताल जनकपुरबाट २४ जना पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन महिला र एक जना पुरुष, सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड अस्पतालबाट दुई महिला डिष्चार्ज भएका छन । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एक महिला र एक पुरुष, कलैया अस्पताल बाराबाट छ पुरुष, शाहीकृष्ण आइसोलेशन सप्तरीबाट १७ पुरुष र कोभिड–१९ अस्पताल बेलझुण्डी दाङबाट एक महिला र ११ पुरुष डिस्चार्ज भएका छन् ।

यसैगरी तनहुँका पहिलो संक्रमित कोरोना जितेर घर फर्किएका छन । यो संगै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या एक हजार ४२ पुगेको छ । तीमध्ये १०५ महिला र ९३७ पुरुष रहेका छन् । अहिलेसम्म पिसिआर एक लाख ३८ हजार ६८३ र आरडिटी दुई लाख १९ हजार ३३६ जनाको गरिएको छ । देशभरि क्वारेन्टिनमा एक लाख ३३ हजार ८२९ जना छन् । यस्तै पोखरामा कोभिड–१९ को पिसिआर मेसिन जडान गरी थप एक प्रयोगशाला स्थापना गरी परीक्षण थालिएको छ । योसँगै पोखरामा दुई पिसिआर विधिबाट प्रयोगशाला स्थापना गरिएको छ । नयाँ प्रयोगशालासँगै मुलुकभर २२ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिन्छ ।

प्रवक्ता गौतमका अनुसार मन्त्रालयले विभिन्न स्वास्थ्यसंस्थासँग कोभिड– १९ का बिरामीको उपचारमा समन्वय र सहजीकरण गर्न मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्सालको संयोजकत्वमा एक चिकित्सक टोली गठन गरिएको छ ।