जनता टाइम्स

२ असार २०७७, मंगलवार ११:३८

‘क्लिनफिड’ प्रविधि लागू गर्ने तयारी, बार्षिक अरबौं जोगिने


काठमाडौं, असार २

सरकारले कात्तिकबाट ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ । विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले सोमबार यस्तो सूचना जारी गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको हुनाले सो सूचना जारी गरिएको जानकारी दिनुभयो । नेपालमा प्रसारणका लागि डाउनलिङ्कको अनुमति लिने च्यानलको सङ्ख्या १४७ छन् ।

नेपाली आकाशमा अहिले २ सय भन्दा बढी विदेशी च्यानलहरुको रजगज चलिरहेको छ । उनीहरुले नेपालबाट बार्षिक अरबौं रुपैयाँ लगिरहेका छन् । क्लिनफिड लागू भएपछि यो अवस्था निरुत्साहित हुने भने पक्का छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले यस अघि ०७४ साउन १ गतेदेखि ‘क्लिन फिड’ नीति लागू गर्ने निर्णय गरे पनि नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबावका कारण यो नीति पछि धकेलिन पुगेको थियो ।