जनता टाइम्स

२ असार २०७७, मंगलवार १४:०८

लद्दाखमा भारत र चीनका सैनिकबीच हिंसात्मक घटना, बरिष्ठ अधिकारीसहित तीन भारतीय सेनाको मृत्यु


काठमाडौं, असार २

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो ।

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन् ।

केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । तर धेरैपछि सैनिकहरूको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो । चीनले भारतलाई तनाव बढ्नेगरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ ।

भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत नराम्ररी पराजित भएको थियो । भारतले चीनलाई ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको आरोप लगाएको छ । सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो । (बिबिसी)