काठमाडौं, असार २
एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन् ।
कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एक जना र अक्सिजन दिइएका २५ मा एक जनाको जीवन जोगाउने देखिएको छ ।
कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो । अनुसन्धानकर्ताहरूले यदी उक्त औषधि सुरू देखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन् ।
यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड(१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ । मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ होइन र यो खासै महँगो छैन । पुरानो र सस्तो खालको स्टेरोइड हो ।
उनी भन्छन् यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन् । त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको छ । डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ ।
कोभिड–१९ को सङ्क्रमण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धी मानिएको छ । सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ ।
अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड–१९ का बिरामीहरूलाई फाइदा पुर्याउने देखिएको छ । त्यसले कोभिड–१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृत्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन । त्यसमाथि डेक्सामेथासोनको विपरीत रेम्डेसिभिर नयाँ औषधि हो र यसको आपूर्ति सीमित अनि मूल्य पनि तोकिन बाँकी थियो । (बिबिसी)
प्रतिक्रिया दिनुहोस्