जनता टाइम्स

४ असार २०७७, बिहीबार १४:५५

भारतलाई चीनले दियो यति कडा चेतावनी


काठमाडौं, असार ५ । चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने अभियान नरोके भारतका लागि जवाफी कार्बाही गर्ने चेतावनी दिएको छ । चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीय लेखेर भारतलाई यस्तो चेतावनी दिएको हो ।

सो पत्रिकाले भारतले अमेरिकाको उक्साहटमा लागेर चीनबिरुद्धको अभियान तत्कालै नरोके चीनलाई जवाफी कारबाहीमा कुनै पनि समय नलाग्ने चेतावनी दिएको छ । भारतलाई वासिङ्टनले आफूविरुद्ध प्रयोग गरेको आशंका चीनको छ । भारत–चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले युद्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ । चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनविरुद्ध एकोहोरो प्रयोग भएको निष्कर्ष पनि निकालेको छ । यस्तै चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका विवाद निम्त्याएको भन्दै कडा आलोचना गरेको छ ।

तीन दिनअघि भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा हिंस्रक झडप भएको थियो । झडपमा २० भारतीय सैनिकको मृत्यु भयो भने भारतले चीनतर्फ पनि ४० जना मारिएको दावी गरेको छ । लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। भारत–चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो ।

‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन । भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सैन्य दबाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय विनाशकारी हार हुनसक्छ,’ चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ ।

लद्दाख झडपपछि भारत र चीनले विदेशमन्त्री स्तरीय, सैन्य कमाण्डर स्तरमा र दूतावासमार्फत पनि वार्ता गरिरहेका छन । तर एकअर्काविरुद्ध दुवै देशले सीमा क्षेत्रमा सैन्य क्षमता बढाएपछि थप तनावको अवस्था सिर्जना भएको छ । चीन र भारतबीचको विवादमा दुवै देशका सञ्चारमाध्यमले नेपाललाई पनि तानिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार चीनलाई भारत जवाफ दिन तयार रहेको बताएलगत्तै चीनले यस्तो कडा जवाफ दिएको हो ।