जनता टाइम्स

४ असार २०७७, बिहीबार १६:५२

ह्वात्तै बढन थाले कोरोना संक्रमित : आज एकै दिन थपिए ६७१ संक्रमित, कुल संक्रमित संख्या ७८४८ पुग्यो


काठमाडौं, असार ४ । पछिल्लो २४ घण्टामा काठमाडौंका तीनसहित ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत यस्तो जानकारी दिनुभएको हो ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । आज मात्रै थप दुई जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ । प्रवक्ता गौतमका अनुसार योसँगै मृतकको संख्या २२ पुगेको छ । प्रवक्ता गौतमका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या भने ११ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ । यस्तै अहिले क्वारेन्टाइनमा एक लाख १६ हजार २ सय १५ जनालाई राखिएको छ । मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । कोरोना संक्रमण ७७ जिल्लामध्ये ७४ जिल्लामा फैलिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।