जनता टाइम्स

४ असार २०७७, बिहीबार १८:४२

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण : अब निशानछापमा लिम्पियाधुरासहितको भूभाग


काठमाडौं, असार ४ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने पारित भएको संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रियसभाबाट पारित भइ सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको केही समयमै राष्ट्रपति भण्डारीले बिद्येयक प्रमाणिकरण गर्नुभएको हो ।

संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित आज संशोधन प्रक्रियाले पूर्णता पाएको हो । विधेयक आज नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाउनु भएको थियो ।
राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ । २०३२ सालसम्म नेपालको औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग नेपाल आफैँले नक्सा जारी गर्दा भने छुटाएको थियो ।

नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको थियो। त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो। जेठ २७ गते प्रतिनिधिसभामा छलफल भइ संशोधनका लागि ७२ घण्टा समय दिइ ३१ गते अर्थात् आइतबार पारिते भएको थियो ।