जनता टाइम्स

५ असार २०७७, शुक्रबार ००:०८

लकडाउन खुकुलो गरेसँगै बढे कोरोना संक्रमित : काठमाडौं उपत्यका पनि उच्च जोखिममा


काठमाडौं, असार ५ । लकडाउन खुकुलो पारेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ बढदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवारदेखि बिहीबारसम्म सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

स्वास्थ्य मन्त्रालयले बिहीवार अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित देखिएको संख्या सार्वजनिक गरेको छ । बिहीवार ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सरकारले चैत ११ गतेदेखि कोरोना संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन असार १ गतेबाट खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्दै गएको हो ।

पछिल्लो हप्ताको मात्र संक्रमण दर हेर्दा मंगलबार केही संख्या घटे पनि अन्य दिन बढेको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार ४ सय २५, सोमबार ४ सय ५१, मंगलबार ३ सय ८०, बुधबार ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार यो संख्या बढेर अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ६ सय ७१ जनामा कोरोना पोजिटिभ देखिएको छ।

बिहीवार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८ सय ४८ पुगेको छ। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने ११ सय ८६ जनाले कोरोनालाई जितेर उपचारपछि घर फर्किएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा नारा जुलुस गर्दा संक्रमणको जोखिम झनै बढेको छ । पछिल्लो समय बालुवाटार र माइतीघरको जुलुसमा सहभागी केही ब्यक्तिमा कोरोना देखिएपछि त्रास थप बढेको छ भने काठमाडौं, ललितपुर र भक्तपुर पुनः जोखिममा परेको हो । स्वास्थ्य मन्त्रालयले लकडाउन केही खुकुलो मात्र पारिएको भन्दै आफ्नो सुरक्षार्थ दुरी कायम गर्नुका साथै भीडभाडमा नजान सवैलाई अफिल गरेको छ । बिहीवार मात्रै उपत्यकाका तीन जिल्लामा ६ जना कोरोनाका नयाँ संक्रमित पुष्टि भएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो ।