काठमाडौं, असार ५
लकडाउनका कारण विभिन्न देशमा रोकिएका नेपालीलाई आज पनि स्वदेश फर्काइदैछ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज र जजिरा एयरले विभिन्न देशबाट चार्टर उडान गरिरहेका छन् ।
नेपाल एयरलाइन्सले आज विहान युएईबाट १५० नेपाली स्वदेश लिएर आएको छ । जसमा एक जनाको शव समेत रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आजै विहान हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट एक शव र १५३ यात्रु लिएर आएको छ । यस्तै करिव १५० जना यात्रु लिएर कुवेतबाट जजिरा एयरलाइन्सको जहाज पनि आज दिउसो अवतरण गर्नेछ ।
यसैगरी, कतार एयरवेजले पनि कतार एयरवेज शुक्रबार दिउँसो १२ बजे १४३ जना नेपाली र २० वटा शव लिएर आउदैछ । शवलाई कतार सरकार आफैँले नेपाल पठाएको हो । सो विमान काठमाडौंका लागि दोहाबाट उडान भरिसकेको छ । वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव ल्याइँदैछ ।
यसैगरि मोरङको कोशी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पंजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव कतारबाट ल्याइँदै छ ।
उनीहरुमध्ये १३ जनाको शव बुझेर बोर्डले मृतकको घरसम्म निःशुल्क पुर्याइदिने छ भने सात जनाको काठमाण्डौमै अन्त्येष्टि गरिने आफन्तले बताएको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यस्तै आजै कुवेतबाट नेपाली लिएर आउने जजिरा एअरले पनि २ वटा शव ल्याउनेछ । नुवाकोटकी सोनी तामाङ र संखुवासभाका मानबहादुर आलेको शव कुवेतबाट आउँदैछ ।
प्रतिक्रिया दिनुहोस्