जनता टाइम्स

६ असार २०७७, शनिबार १९:५१

कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण : प्रधानमन्त्री ओली


काठमाडौं, असार ६

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताउनुभएको छ । छैटौँ अन्तरराष्ट्रिय योग दिवसको पुर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल सुखी नेपालीे सरकारको राष्ट्रिय आकाङ्क्षा रहेकाले त्यो पूरा गर्ने आधारका रुपमा शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वानसमेत गर्नुभयो । सन् २०१५ बाट संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन शुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ ।

सन्देशमा उहाँले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज रहेको भन्दै मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको बताउनुभयो ।

“तनाव, अवसाद, द्वेष, ईष्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले दो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यक छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “योगको महत्वका बारेमा जनचेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पु¥याउने काममा दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्दछ ।”

योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्ने भन्दै सन्देशमा उहाँले मन, शरीर र कर्मको दूरी हटाई एकाग्रता प्रदान गर्नु योग भएको बताउनुभयो । प्रधानमन्त्रीले योग साधनाले तनाव व्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान् बनाउन मद्दत पु¥याउने बताउनुभयो ।

यहाँका वनस्पतिमा रहेको यौगिक प्रभावकारिताबारे आधुनिक विज्ञानका सोध ग्रन्थहरुमा पनि चर्चा गरेको उल्लेख गर्दै सन्देशमा उहाँले प्राच्य दर्शनमा अपनाइएको योग पद्धतिलाई आजको आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको बताउनुभयो ।