काठमाडौं, असार ८ । निजी विद्यालयहरुले लकडाउन अवधीमा पनि शुल्क उठाउन आन्तरिक सर्कुलर गर्दै अभिभावकलाई ताकेता गरेका छन् । शिक्षण संस्थामा पठनपाठन ठप्प रहेपनि प्याब्सन र एनप्याब्सनले संयुक्त अपिल जारी गरेर शुल्क बुझाउन ताकेता गरेका हुन् ।
निजी विद्यालयहरु आर्थिक संकटमा गुज्रेको कारण देखाउँदै गत शैक्षिक वर्षको बाँकी बक्यौता र शैक्षिकसत्र २०७७ को रकम बुझाउन अभिभावकहरुलाई आग्रह गरिएको छ । लकडाउनका कारण शैक्षिकसत्र कहिलेबाट सुरु हुने भन्ने अनिश्चित छ । तर प्याब्सन, एनप्याब्सनले शुल्क उठाउन देशभरका निजी विद्यालयलाई आन्तरिक सर्कुलर गरिसकेका छन् । आइतबार प्याब्सन अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सार्वजनिक अपिल गरेर शुल्क बुझाउन भन्नुभएको छ ।
शिक्षा मन्त्रालयले गत चैत महिनाको कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । असार अघिसम्म सञ्चालित अनलाइन कक्षाको पनि शुल्क लिन नपाइने मन्त्रालयले जनाएको थियो । असार १ गतेदेखि शिक्षा मन्त्रालयले देशभर बैकल्पिक विधिबाट सिकाइ क्रियाकलाप सञ्चालन गरेपछि निजी विद्यालय सञ्चालकहरु शुल्क उठाउने योजना बनाएका हुन ।
विगतमा शैक्षिकसत्रको सुरुमा भर्ना लगायत विभिन्न शिर्षकमा निजी विद्यालयहरुले लाखौं रुपैंया उठाउने गर्थे । यसपटक अघिल्लो शैक्षिकसत्रको अन्त्य देखि नै लकडाउनले शैक्षिक गतिविधि पनि प्रभावित हुँदा सञ्चालकहरुले कुनै पनि शुल्क उठाउन पाएका छैनन् ।
निजी बिद्यालयहरुले सामाजिक दुरी कायम हुने गरी विद्यालयमा उपस्थिति भएर शुल्क बुझाउन आग्रह गरिएको छ । रकम भुक्तानी गरेर सहयोग गरिदिन अपिलमा अनुरोध गरिएको हो । सरकारले लकडाउनमा समस्यामा परेका निजी विद्यालयलाई कुनै पनि सहयोग नगरेका कारण अभिभावकसँग शुल्क माग्न बाध्य भएको उनीहरुको जिकिर छ । शिक्षा मन्त्रालयले एक महिनाका लागि वैकल्पिक विधि (रेडियो, टेलिभिजन, अनलाइन र अफलाइन) बाट वैकल्पिक कक्षा सञ्चालन गरेको छ । शुल्कका विषयमा निजी विद्यालयले स्थानीय तहसँग समन्वय गर्नुपर्ने ब्यवस्था छ ।













प्रतिक्रिया दिनुहोस्