जनता टाइम्स

८ असार २०७७, सोमबार १७:३२

एकै दिन २७ जिल्लामा देखिए नयाँ कोरोना संक्रमित : कुन जिल्लामा कति थपिए ? (सूचीसहित)


काठमाडौं, असार ८ । पछिल्लो २४ घण्टामा ३ सय ७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३ सय ७० जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन ।

आज कोरोना विशेष अस्पताल दाङबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्प्तालबाट २८ जना, दैलेख अस्पताल दुल्लुबाट २६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पताल विरगञ्जबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य प्रवक्ता गौतमले दिनुभएको यो तथ्यांकसहित नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदै गर्दा निको हुनेको संख्या पनि बढन थालेको हो । मन्त्रालयका अनुसार आज डेढ र ३ वर्षका बालकसहित सो संख्यामा कोरोना कोरोना जितेर घर फर्किएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ । स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको बताउनु भयो । थपिएका नयाँ संक्रमितहरु मध्ये झापाका ३, मोरङका १२, सप्तरीका १५, धनुषाका १०, महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५ जना रहेका छन ।

यसैगरी डोटीका ७, गुल्मीका ५६, जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङजाका ३३, पाल्पाका ९०, प्युठानका ३०, रौटहटका ३४, रुपन्देहीका १०, चितवनका ५, नवलपरासी पूर्वका २४, ओखलढुंगाका १, तनहुँका ११ र दाङका १३ जना कोरोना संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ६८ हजार १ सय ३ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ५ हजार ९२९ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ८१ हजार ३७१ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ६ हजार १९८ परीक्षण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९० हजार ७३० जना रहेका छन् भने आइसोलेसनमा ७ हजार २३१ जना रहेका छन् ।