जनता टाइम्स

९ असार २०७७, मंगलवार १६:४०

पाँच महिनामा दश हजार पुगे संक्रमित


काठमाडौं, असार ९

नेपालमा कोरोना संक्रमण भेटिएको पाँच महिनामा संक्रमितको सख्या १० हजार नाघेको छ । शुरुवातिमा निक्कै सुस्त रुपमा संक्रमित भेटिएकोमा लकडाउनका क्रममा भारतबाट आउनेको सख्या बढेपछि संक्रमित पनि बढेका छन् । तर, अहिलेसम्म भेटिएका संक्रमितमध्ये अधिकाशंको अवस्था सामान्य नै रहेको छ ।

यो पाँच महिनामा २४ जनाले ज्यान समेत गुमाएका छन् । पछिल्ला ९ दिनमा ८ हजार ३३९ जना थप भएका छन् । पछिल्ला ९ दिनमा दैनिक सरदर ४८२ जना संक्रमित भेटिएका छन् । संक्रमित भेटिनेमा सबैभन्दा बढि युवाहरु नै रहेका छन् । ११ देखी ४० वर्ष उमेर समुहका व्यक्तिमा यो संक्रमण बढि पाइएको छ । यो समुह भारतमा रोजगारीमा जाने गरेका कारण त्यहाबाट फर्किदा संक्रमण ल्याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित निको हुने क्रममा पनि विस्तारै बढ्न थालेको छ । मंगलबारसम्म २ हजार २२४ जनाले संक्रमणलाई जितेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । सात वटा प्रदेश मध्ये प्रदेश–२ र ५ मा सबैभन्दा बढि संक्रमित फेला परेका छन् ।

हालसम्म रसुवाबाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ । यसैगरी एक लाख ८६ हजार ३६६ जनामा पिसिआर र दुई लाख ७१ हजार ५८४ जनामा आरडिटी परीक्षण गरिएको छ । यस्तै ८५ हजार ११३ जना क्वारेन्टिन र सात हजार ८५१ जना आइसोलेशनमा रहेका छन् ।