जनता टाइम्स

९ असार २०७७, मंगलवार १६:५६

अष्ट्रेलियामा समातिए दुई नेपाली, यस्तो छ कारण


सिडनी, असार ९ । अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । अष्ट्रेलियन प्रहरीले पश्चिमी सिड्नीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले २२ वर्षीया नेपाली युवती नेहा गिरी र १९ वर्षीय युवक आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोप छ । दुवै जनाबिरुद्ध छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दा लगाइएको छ ।

नाइनन्युजको समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए । उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए । पैसा बुझाएपछि वृद्धा प्रहरीमा गइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए ।

प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको छ । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । उनीहरुलाई अदालतले जमानतमा छाडन अस्वीकार गरेको । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।