जनता टाइम्स

९ असार २०७७, मंगलवार २०:५८

तनाव कम गर्न भारत र चीनबीच भयो यस्तो सहमति


काठमाडौं, असार ९ । लद्दाख क्षेत्रमा उत्पन्न तनाव कम गर्न चीन र भारतबीच सहमति भएको छ । भारत र चीनले विवादित सीमा क्षेत्रबाट आआफ्ना सेना फिर्ता गर्ने विषयमा सहमति गरेका हुन ।

पूर्वी लद्दाखको गलवान उपत्यकामा जुन १५ गते दुवै सेनाबीच झडप भएपछि भएको निरन्तरको वार्तामा दुवै पक्षका सेना आआफ्नो ठाउँबाट पछि हट्ने विषयमा सहमति भएको रोयटर्सले जनाएको छ। भारतीय सञ्चारमाध्यमले पनि भारत र चीन दुवै देशले आआफ्ना सैनिक विवादित क्षेत्रबाट फिर्ता गर्ने सहमति गरेका जनाएका छन् । दुवै सेनाबीचको जुन १५ को हिंसात्मक झडपमा एक उच्च अधिकारीसहित भारतीय सेनाका २० जनाले ज्यान गुमाएका थिए ।

सो घटनापछि दुई देशबीच तनाव उत्पन्न भएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाङले भारत र चीन दुवै देशले विवाद अन्त्यका लागि सहमति गरेको बताउनु भयो । मे महिनादेखि गलवान उपत्यका र पाङगोङ तालको स्वामित्वका विषयमा दुवै देशका सैनिकबीच पटक पटक झडप भएको थियो । सहमतिसँगै तत्कालका लागि भारत र चीनबीचको तनाव कम भएको छ ।