जनता टाइम्स

१० असार २०७७, बुधबार ०८:४०

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण : कुन कुन ठाउँका हुन संक्रमित ?


पोखरा, असार १०। गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले दिनुभएको जानकारी अनुसार आज थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

उहाँका अनुसार आज लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शर्माका अनुसार बागलुङमा ९ जना कोरोना संक्रमित फेला परेका छन् । बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको हो ।

स्याङ्जामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका अर्जुनचौपारी गाउँपालिकामा १ जना, आँधीखोला गाउँपालिकामा १ जना र वालिङ नगरपालिका ३० महिने बालिकासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै लम्जुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेंशिशहर नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा २ महिला र एक पुरुष गरी ३ जना र मादी गाउँपालिकाका एक महिला र एक पुरुष गरी २ जनामा समेत कोरोना संक्रमण देखिएको हो । यसैगरी नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगे गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७२९ पुगेको छ ।