जनता टाइम्स

११ असार २०७७, बिहीबार ११:०८

संघीय संसदका सदस्यले कोरोना अवधिभरको भत्ता नलिने प्रस्ताव संसदमा ल्याउदै नेकपा


काठमाडौं, असार ११

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले संसदमा कोरोना अवधिभरको भत्ता नलिने प्रस्ताव ल्याउने भएको छ । संघीय संसदका सदस्यको कोरोना अवधिभरको भत्ता नलिने गरी प्रस्ताव ल्याउने तयारी गरेको हो ।

बुधबारबाट शुरु भएको स्थायी कमिटी बैठकमा सो प्रस्तावलाई पनि एजेण्डा बनाइएको छ । सो एजेण्डामा सबै सदस्य लगभग सहमत भएकाले पारित हुने निश्चित जस्तै छ । कोरोना महामारी शुरु हुँदा नै सरकारमा सहभागी मन्त्रीले एक महिनाको तलब नलिने र कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए ।

सांसदले पनि आधा महिनाको तलब कोषमा जम्मा गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोरोना महामारी अन्त्य नभएसम्मको पारिश्रमिक नलिने घोषणा गरिसक्नु भएको छ । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नु भएको छ, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

उहा बाहेक नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि तलब नलिने घोषणा गर्नुभएको थियो । तर, अन्य कुनै पनि नेता तथा सांसदले यस्तो घोषणा गरेका छैन् । जसले गर्दा नेकपाले भत्ता नलिने प्रस्ताव संसदमा लैजान लागेको हो । सांसदले आफ्नो जिल्ला गएको, विभिन्न बैठकमा भाग लिएको लगायतका भत्ता पाउदै आएका छन् । जसमा मासिक लाखौं रुपैयाँ खर्च हुने गरेको छ ।