जनता टाइम्स

११ असार २०७७, बिहीबार १२:२१

‘ट्राभल हिस्ट्री’ नभएका ब्यक्तिमा पनि कोरोना


प्रकाश अधिकारी \ सुर्खेत, असार ११

सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो ।

पिसिआर परीक्षणबाट ती मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन् । कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण जोखिममा रहेको बताइएको छ ।

कर्णालीमा एकैपटक यति धेरै संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो । उनी दुई साता प्रदेश अस्पतालको आइसोलेशनमा बसेर कोरोना जितेर फर्किसकेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस सङक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, भारतबाट फर्किएका व्यक्तिहरूको प्रत्यक्ष सम्पर्कमा नै गएका थिए । समुदायमै बसिरहेका व्यक्तिहरुमा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि कर्णालीमा त्रास बढेको छ ।

आइतबार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना सङ्क्रमण पुष्टि भयो । पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो । एपेन्डिसाइडको शल्यक्रिया भयो । उनका बुवा भारतबाट आएर क्वारेन्टिनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बाबुआमाको पनि कोरोना परीक्षण ग¥यो । परीक्षणबाट तीनै जनामा कोरोना सङ्क्रमण देखियो । भारतबाट फर्किएका ती व्यक्तिकै कारण उनका श्रीमती र छोरा पनि सङ्क्रमित हुन पुगे । हाल उनीहरुको प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकहरु क्वारेन्टिन व्यवस्थित गर्न नसक्दा कोरोना जोखिम बढेको बताउँछन् । भारतबाट आएकालाई सुरक्षित तवरले क्वारेन्टिनमा व्यवस्थापन गर्न नसक्नु, पिसिआर परीक्षण नहुँदै घर पठाइनु, होम क्वारेन्टिनको व्यवहारिक प्रयोग नहुनुजस्ता कारणले सङ्क्रमणको जोखिम बढेको जनाइएको छ । प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सक डा नवराज केसीले कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो । १४ दिन क्वारेन्टिनमा राखेर पिसिआर परीक्षणबिनै घर पठाउँदा परिवारका सदस्यहरुमा सङ्क्रमणको जोखिम बढेको उहाँको भनाई छ ।

भारत सरकारले बन्दाबन्दी (लकडाउन) कै बीच यही जेठ १ गतेदेखि रेल तथा बस सेवा सञ्चालन ग¥यो ।यसले गर्दा रोजगारीका क्रममा ठूलो संख्यामा त्यहाँ रहेका कर्णालीबासीहरु विभिन्न नाका हुँदै फर्किन थाले । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार यस अवधिमा ४१ हजार बढी कर्णालीबासीहरु भारतबाट फर्किसकेका छन् । भारतबाट फर्किनेहरुको संख्या बढेसंगै समुदायस्तरमा पनि सङ्क्रमितको संख्या बढ्दैछ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशमा समुदायका २२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमण दोस्रो चरणमा पुगेपनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छाडिएको छ । “केही समय अघि क्वारेन्टिनमा सीमित कोरोना सङ्क्रमणका बिरामी अहिले धमाधम समुदायमा पनि भेटिँदैछन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत अछुतो रहेनन्,” प्रदेश अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायण सापकोटाले भन्नुभयो, “विशेषगरी प्रदेश सरकार र स्थानीय तहले समयमै कोरोना समुदायमा फैलिन नदिन विभिन्न उपाय अपनाउनुपर्छ, अझैं लापरबाही गर्ने हो भने अवस्था भयावह हुने सम्भावना देखिएको छ ।”

प्रदेश अस्पतालका कोभिड १९ फोकल पर्सन चिकित्सक केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसको थप जोखिम निम्तिएको छ, अहिले समुदायमा सङ्क्रमण सुरुआती चरणमा छ, कसैलाई पनि लक्षण देखिएको छैन, पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउनुपर्ने बेला आएको छ ।” कर्णालीमा हालसम्म आशंकित बाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन् । सङ्क्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने बताइएको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिर्खबहादुर शाहीले समुदायमा केसको आधारमा ‘कन्ट्रयाक टे«सिङ’ गर्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म समुदायमा सङ्क्रमण देखिनेमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी २२ जना छन् । जुम्लामा चार तथा जाजरकोटमा एक जना गरी पाँच प्रहरीमा सङ्क्रमण पुष्टि भइसकेको छ । कर्णालीमा कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेपछि सर्वसाधारण तथा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा जोखिम छाएको छ । प्रदेशमा बुधबारसम्म एक हजार ३३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने पाँच जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५६८ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भइसकेका छन् ।