बाँके, असार १३ । कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएका दुई जना महिलासहित तीन जनाले कोरोनालाई जितेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा सफल शल्यक्रियापछि आइसोलेसनमा उपचार गराइरहेका दुई जना महिला र शल्यक्रियाका लागि भर्ना गरिए पनि बिना शल्यक्रिया नै ठिक भएका एक वृद्ध पुरुषले शुक्रवार कोरोना जितेका हुन ।
शल्यक्रिया गरिएका तीनै जनाको पीसीआर रिपोर्ट नगेटिभ आएपछि नर्मल वार्डमा सारेर उपचार भइरहेको नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेशकुमार कनौडियाले जानकारी दिनुभयो । सहनिर्देशक कनोडियाका अनुसार कोरोना सङ्क्रमित अछाम चौरपाटी गाउँपालिकाकी २५ वर्षीया १८ हप्ताकी गर्भवती महिला र कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया ३८ हप्ताकी सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको थियो ।
सोही प्रकारले रुकुम सानो भेरी नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कोरोना सङ्क्रमित जेष्ठ नागरिक पनि शल्यक्रियाका लागि भर्ना भए पनि बिना शल्यक्रिया नै उहाँको उपचार गर्नुका साथै कोरोना रिपोर्टसमेत नगेटिभ आएकाले नर्मल वार्डमा शिफ्ट गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म २ हजार ६ सय ९८ जनाले कोरोनालाई जितेका छन । शुक्रवारसम्म देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८६ पुरुष र १०७ महिला गरी कूल ५९३ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौँमा थप तीन जना पुरुषमा सङ्क्रमण पुष्टी भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको छ । तीमध्ये एक हजार २४९ महिला र १० हजार ५०४ पुरुष रहेका छन् । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अछाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रौतहट, सल्यान, नवलपरासीपूर्व, काठमाडौँ, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायत जिल्लामा गरी ५९३ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । अहिलेसम्म रसुवा बाहेक सबै जिल्लामा कोरोना भाइरस फैलिसकेको छ ।
यस्तै बितेका २४ घण्टामा आठ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका उहाँले बताउनुभयो । योसँगै कोरोना निको हुनेको सङ्ख्या दुई हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्