जनता टाइम्स

१४ असार २०७७, आईतवार १६:४५

२४ घण्टामा थपिए ४६३ कोरोना संक्रमित, १२ हजार ७७२ पुगे कुल संक्रमित संख्या


काठमाडौं, असार १४ । नेपालमा कोरोना भाइरस संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत यस्तो जानकारी दिनुभएको हो ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ६३ जना कोरोना संक्रमित थपिएका छन । गौतमका अनुसार अनुसार आज कोरोना संक्रमण पुष्टि भएका ४६३ जनामध्ये १०५ महिला र ३५८ पुरुष छन् । कुल संक्रमितमध्ये १४ सय ७४ महिला र ११ हजार दुई सय ९८ पुरुष रहेका छन । आज नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ६२ र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म क्वारेन्टाइन ६१ हजार ७ सय ३१ र आइसोलेसन ९ हजार सात सय ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १८९ रहेको छ । यस्तै आजसम्म डिस्चार्ज हुनेको कुल संख्या तीन हजार १३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख १५ हजार आठ सय ३९ र आरडीटी विधिबाट दुई लाख ९६ हजार सात सय ६६ जनाको नमुना परीक्षण गरिएको छ ।