जनता टाइम्स

१६ असार २०७७, मंगलवार १३:५०

कोरोना हालसम्म नियन्त्रणमै, दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुन्छ : स्वास्थ्य मन्त्री ढकाल


काठमाडौं, असार १६

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समाजमा ६ प्रतिशत कोरोना संक्रमण देखिएको बताउनु भएको छ । नेपालमा हालसम्म देखिएका संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको जानकारी गराउनु भयो ।

उहाले कोरोना संक्रमण नियन्त्रणकै स्थितिमा रहेको बताउदै दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने स्पष्ट पार्नुभयो । सरकारले असार १५ मै १० हजार जनाको एक दिनमा पिसिआर परीक्षण गर्ने गरी तयारी गरेपनि केही प्राविधिक कारणले गर्दा पुरा हुन नसकेको भन्दै केही दिनमै १० हजार जनाको परीक्षण गरिने जानकारी दिनुभयो ।

मन्त्री ढकालले देशभर ३३ वटा प्रयोगशाला पुर्‍याएर दैनिक १० हजार जनाको परीक्षण गरिने जनाउनु भयो । परीक्षण क्षमता बढाउन सरकारले निजी प्रयोगशालाहरूसँग सहकार्य गर्ने जनाए पनि अहिलेसम्म निजी प्रयोगशालाहरूले परीक्षण सुचारू गरेका छैनन् ।