जनता टाइम्स

१६ असार २०७७, मंगलवार १७:०२

छिमेकीलाई दुःख दिएर यसरी दुश्मन बन्दैछ भारत : श्रीलंकासँग पनि सुरुभयो विवाद


काठमाडौं, असार १६ । भारतले आफ्ना छिमेकीलाई अप्ठयारो अवस्थामा थप समस्यामा पार्न थालेको घटनाक्रमले पुष्टि गर्न थालेको छ । कोरोना महामारीका कारण लकडाउन भएको समयमा नेपालको अतिक्रमित भूमिमा सडक बनाएर उदघाटन गरी दुःख दिएको भारतले कोरोना महामारीकै बीच श्रीलंकालाई तनाव दिएको छ । भारतले श्रीलंकालाई कर्जा तिर्नका लागि दबाब दिँदै तनाव दिएको हो ।

श्रीलंकाले आर्थिक संकटका कारण कर्जा भुक्तानीका लागि समय माग गरे पनि भारतले कुनै सुनुवाइ नगरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन । भारतको सो दवावपछि त्यसपछि श्रीलंकाली अधिकारीहरुले चीनसँग कर्जा लिएर भारतलाई भुक्तान गर्ने विषयमा छलफल गरेपछि भारतले विभिन्न प्रकारका समस्या दिन सुरु गरेको हो ।

भारतीय अधिकारीले श्रीलंकामा पनि नेपालमा जस्तै चिनियाँ कार्ड प्रयोग भएको बताएको भारतीय पत्रिका द हिन्दुको समाचारमा उल्लेख छ । शनिबार श्रीलंकाका राष्ट्रपति गोताबाय राजपक्षेले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विकासशील देशको कर्जामा राहत दिनुपर्ने माग गर्नुभएको थियो । राजपक्षेले भारतसमेत सहभागी भर्चुअल बैठकमा उक्त आग्रह गर्नुभएको थियो । श्रीलंकाले भारतबाट ९६ करोड डलर कर्जा लिएको छ । त्यहीँ कर्जालाई देखाएर भारतले मुद्रा सटहीमा पनि रोक लगाइ दिएको छ । यो विषयमा श्रीलंकाले पटक पटक भर्चुअल बैठक बस्न भारतलाई आग्रह गरे पनि भारतले त्यसलाई कुनै सुनुवाइ गरेको छैन ।

कर्जाका लागि समय थप्ने र मुद्रा साटासाट गर्नका लागि योबीचमा श्रीलंकाले तीन पटक आग्रह गरिसकेको छ । तर भारतले कुनै सुनुवाइ नगरेपछि श्रीलंकाका राष्ट्रपति राजपक्षेले चिनियाँ समकक्षी सी जिनपिङसँग छलफल गर्नुभएको समाचारमा जनाइएको छ । सोही आधारमा चिनियाँ राष्ट्रपति सीले कोरोना महामारीविरुद्ध लड्का लागि श्रीलंकालाई ५० करोड डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ । सिको सो घोषणापछि भारत श्रीलंकाविरुद्ध खनिएको हो ।