जनता टाइम्स

२३ असार २०७७, मंगलवार १८:१३

नेपालमा ४६.४ प्रतिशत संक्रमितले जिते कोरोना : संक्रमित संख्या पनि ह्वात्तै घट्यो (सूचीसहित)


यसिमा महत/काठमाडौं

नेपालमा पछिल्लो समय कोरोना भाइरसलाई जित्नेको संख्या ह्वात्तै बढेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोनालाई जितेका हुन ।

‘पछिल्लो समय कोरोना संक्रमितको संख्या घटदै गएको छ भने कोरोना जित्नेको संख्या बढदै गएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जनताटाइम्ससँग भन्नुभयो, ‘अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोनालाई जितेर घर फर्कनुभएको छ ।’ पछिल्लो २४ घण्टामा पनि कोरोना संक्रमित भन्दा जितेर फर्कनेको संख्या तेब्बर भन्दा बढी रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ६ सय ८८ जनाले कोरोना जितेका छन । स्वास्थ्य प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार आजसम्ममा नेपालमा कोरोना संक्रमित भई डिस्चार्ज हुनेको संख्या भने ७ हजार ४ सय ९९ जना रहेको छ । यो संख्या कुल संक्रमित संख्याको ४६.४ प्रतिशत हो ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार असार १९ गते १५२५९, २० गते १५४९१, २१ गते १५७८४ र २२ गते १५९६४ र २३ गते १६१६८ संक्रमित पुगेका छन । पछिल्लो तथ्यांकले कोरोना संक्रमितको डाटा क्रमशः ओरालो लागेको देखिएको छ । गौतमका अनुसार परिक्षणका आधारमा संक्रमितको संख्या पनि घटदै गएको हो ।

जसअनुसार असार १९ गते ७४० संक्रमित भएका थिए, जुन १६.५ प्रतिशत हो । यस्तै असार २० गते २३२ जना अर्थात ५.७ प्रतिशत, २१ गते २९३ अर्थात ६.२ प्रतिशत, २२ गते १८० अर्थात ३.८ प्रतिशत र आज असार २३ गते २०४ अर्थात ३.४ प्रतिशत संक्रमित संख्या रहेका छन ।

‘दिनहु संक्रमित हुनेहरुको प्रतिशत घटिरहेको छ । आइसोलेशनमा रहेका मानिसहरुको संख्या पनि घटदो छ,’ गौतमले भन्नुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ३.३ प्रतिशत मात्रै रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ हजार १३३ को पिसिआर टेस्ट भएको छ । योसँगै आजसम्म २ लाख ६१ हजार ८६१ को आरटी पीसिआर टेष्ट भएको छ । हाल २५ हजार ७२७ जना क्वारेन्टाइनमा रहेका छन । यसमध्ये आइसोलेसनमा भने ८ हजार ६३४ रहेको छ ।

कुन प्रयोगशालामा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा झापाका एक र सुनसरीका दुई जना रहेका छन । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना रहेका छन । यस्तै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज प्रयोगशालाको परीक्षणमा सप्तरीका ३ जना संक्रमित रहेका छन । प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ जना र महोत्तरीका ९ जना रहेका छन भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ११, बैतडीका ११, डोटीका ७, गोर्खाका १ जना, काठमाडौंका १ जना र सिन्धुलीका एक जना रहेका छन् ।

यसैगरी किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा मकवानपुरका २ जना रहेका छन् । धुलिखेल अस्पताल धुलिखेल प्रयोगशालामा बाजुराका ५४ जना, र सिन्धुपाल्चोकका एक जना रहेका छन् । यस्तै पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठान पाटन अस्पताल प्रयोगशालामा धादिङका १ जना, भक्तपुरका ४ जना, गोर्खाका २ जना, कास्कीका १ जना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लमजुङका एक जना, नुवाकोटका १ जना, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १/१ जना, सर्लाहीका ३ जना, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका १/१ जना संक्रमित रहेका छन ।

प्रवक्ता गौतमका अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जना रहेका छन । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २ जना र बाग्लुङका एक जना रहनुभएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका ८ जना, कपिलवस्तुका १ जना, नवलपरासीका ५ जना र पाल्पाका २ जना रहेका छन् ।

यसैगरी भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा दाङका ३ जना रुकुम पश्चिमका ४ जना, रुकुम पूर्वका १ जना, बर्दियाका २ जना, सल्यानका ५ जना रहेका छन । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुर्खेतका ३ जना र डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा डडेल्धुराका ६ जना रहेका छन् ।

कोरोनाबाट हालसम्म बिभिन्न रोगको समस्यामा रहेकासहित ३५ जनाको ज्यान गएको छ भने १६ हजार १ सय ६८ जना संक्रमित भएका छन । जसमध्ये ७ हजार ४ सय ९९ जनाले कोरोनालाई जितेर घर फर्केसँगै उपचाररत संक्रमित संख्या ८ हजार ६ सय ३४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।