जनता टाइम्स

२४ असार २०७७, बुधबार ११:०५

चिकित्सक अध्ययन निश्कर्ष : नेपालमा ९९ प्रतिशत कोरोना संक्रमित लक्षणविहीन, ९७ प्रतिशत आयातित


काठमाडौं, असार २४ । नेपालमा ९९ प्रतिशत कोरोना संक्रमितमा लक्षण नदेखिएको पाइएको छ । चिकित्सकका अनुसार नेपालमा कोरोना भाइरसका लक्षणविहीन ‘असिम्प्टोम्याटिक’ बिरामी रहेका हुन ।

स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुष्टि भएकामध्ये ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित रहेका छन् । नेपालमा हालसम्म १६ हजार १६८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कोरोना सङ्क्रमणको परीक्षण गरिएकामध्ये ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेका छन । सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पनि लक्षण भएका कोरोना सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा पनि कम रहेको तथ्य राख्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १२ हजार सङ्क्रमितको परीक्षण प्रतिवेदन अध्ययन गरेको छ । डा. पाण्डेले अध्ययन गरिएको प्रतिवेदनमध्ये दशमलब पाँच प्रतिशत मात्रै लक्षण भएको बिरामी फेला परेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा हालसम्म २५९ जना सङ्क्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १७५, ललितपुरमा ४१ र भक्तपुरमा ४३ जना रहेका छन । काठमाडौँमा पुष्टि भएका सङ्क्रमितमध्ये विदेशबाट आएका ७९ प्रतिशत छन । काठमाडौँमा साउदी अरब, कुवेत, माल्दिभ्स लगायतका देशबाट उद्धार गरी ल्याइएका बिरामीको सम्पर्कमा आएका केही व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक पाण्डेले बताउनुभयो ।

“विदेशबाट आउनेलाई अनिवार्य आरटी पीसीआर परीक्षण गरेर विमानमा बस्न दिने निर्देशिका तयार गरियो तर काठमाडौँ विमानस्थलमा उत्रिदा आरडीटी मात्रै गरेको, कुनै परीक्षण नै नगरी कोरोनामुक्त भएको चिठीसहित आइपुगेको देख्यौँ,” पाण्डेको भनाई छ । सरकारी अग्रसरतामा करिब १७ हजार नेपाली विदेशबाट नेपाल आएका छन् । मन्त्रालयका अनुसार १७ हजार नेपाल फर्केकोमा ३५ प्रतिशत आगन्तुकले मात्रै आरटी पीसीआर परीक्षण गरी विमान चढेका छन् । अर्को ३५ प्रतिशत आरडीटी मात्रै गराएका छन् । त्रिभुवन विमानस्थलमा उत्रिदा लक्षण देखिएको र परीक्षण गर्दा सङ्क्रमण पाइएका व्यक्ति पनि फेला परेको डा. पाण्डेले बताउनुभयो । पाण्डेले आगामी दिनमा विदेशबाट उद्धार गर्दा परीक्षणलाई अझै कडाइ गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले काठमाडौँसहित देशभरि समुदायमा कोरोना सङ्क्रमणको उपस्थिति नरहेको बताउनुभयो । समुदायमा कोरोना सङक्रमण नरहेको दाबीलाई केही प्रारम्भिक अध्ययनले पनि बल पुर्याएको उहाँको भनाई छ । “८७ प्रतिशत सङ्क्रमित पुरुष छन्, समुदायमा फैलेको भए श्रीमतीसहित परिवारका अन्य सदस्यमा पनि सङक्रमण हुनुपर्थ्यो,” पाण्डेले भन्नुभयो । पछिल्लो समय संक्रमित बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमै १३ स्थानबाट नमूना सङ्कलन गरेको थियो । जसमध्ये तीनकुने र नक्खीपोटका २ सय ६८ जनाको परीक्षण रिपोर्ट आउँदा एक जनामा पनि सङ्क्रमण नपाइएको मन्त्रालयले जानकारी दिएको छ ।