जनता टाइम्स

२४ असार २०७७, बुधबार १३:००

डब्लुएचओबिरुद्ध अमेरिकाले चाल्यो कठोर कदम


वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बिरुद्ध कठोर कदम चाल्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकालाई डब्लुएचओसंगको सम्बन्धबाट अलग बनाएको घोषणा गर्नुभएको हो ।

अमेरिकी सांसद बब मेनेंडेजले ट्वीट मार्फत यस्तो जानकारी दिनुभएको छ । ‘कोरोना महामारी जारी रहेकोे यो अवस्थामा अमेरिका डब्ल्युएचओसंग आधिकारिक रुपमा अलग्गिएको भन्ने जानकारी अमेरिकी कंग्रेसलाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट प्राप्त भएको छ,’ सांसद बब मेनेंडेजले ट्वीट मार्फत भन्नुभएको छ ।

सांसद मेनेंडेजका अनुसार राष्ट्रपति ट्रम्पको यो निर्णयबाट अमेरिका अब डब्ल्युएचओबाट पुरै रुपमा अलग्गिएको छ । यसअघि राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन पूरै रुपमा चीनको नियन्त्रणमा रहेको आरोप लगाउँदै नाता तोडेको घोषणा गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले डब्ल्युएचओमाथि कोरोना रोकथामका बारेमा सही जानकारी नदिएको आरोपसमेत लगाउँदै आउनु भएको छ ।

ट्रम्पले गत अप्रिलमै डब्ल्युएचओलाई दिइने आर्थिक सहायता रोक्का गर्नुभएको थियो । अप्रिलमा उहाँले ३० दिनभित्र कुनै सुधार नदेखिए अमेरिकाले सधैंका लागि विश्व स्वास्थ्य संगठनलाई दिइने आर्थिक सहयोग बन्द गर्ने घोषणा गर्नुभएको थियो । आफ्नो घोषणालाई कार्यान्वयन गर्दै राष्ट्रपति ट्रम्पले मे महिनामा भन्नुभएो थियो, ‘अमेरिका डब्ल्युएचओसंग छुट्टिंदै छ । उसलाई दिंइदै आएको आर्थिक सहायता विश्वब्यापी स्वास्थ्य समस्या झेलिरहेकाहरुलाई दिइनेछ ।’ अहिले यही घोषणा कार्यान्वयनमा ल्याउनु भएको हो ।

राष्ट्रपति ट्रम्पका अनुसार चीनले डब्ल्युएचओलाई बार्षिक ४० मिलियन डलर दिन्छ । तर अमेरिकाले करिब ४ सय ५० मिलियन डलर दिन्छ । यसका बावजुद डब्ल्युएचओ चीनको नियन्त्रणमा पुगेको ट्रम्पको आरोप छ ।