जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार ०६:५५

यो कुरा दुवै अध्यक्षसहित शीर्ष नेतासँग भनिसकेको छु


यमलाल कँडेल, केन्द्रीय सदस्य, नेकपा

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । संघीयताकै मर्मअनुरुप सात प्रदेशमध्ये नेपालको एक प्रदेश हो कर्णाली प्रदेश । कर्णाली जनताको संघर्षबाट स्थापित प्रदेश पनि हो । यो प्रदेश प्राप्त गर्न चार जना व्यक्तिले आफ्नो जीवनको आहुतीसमेत दिनुपर्यो । धेरै सम्भावना र आशाका साथ हौँसिएका कर्णाली प्रदेशका आम नागरिक पछिल्लो समय विभिन्न माध्यमबाट निराशातर्फ जान थालेको अनुभुति पनि हुन थालेको छ । विभिन्न सामाजिक सुचकको हिसावले कमजोर हैसियत भएको प्रदेश पनि कर्णाली हो । के कर्णाली प्रदेश अव कमजोर हैसियतमै रहने हो ? यी र यस्तै विषयमा हामीले कर्णाली प्रदेशसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, कर्णाली प्रदेश सहइन्चार्ज एवं पूर्वमन्त्री यमलाल कँडेलसँग पत्रकार दीपेन्द्र ओलीले लामो कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीका सम्पादित अंश :

पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ ?

हिजोआज कोरोना भाइरसको जताततै त्रास छ । अहिले सरकारले अवलम्वन गरेको स्वास्थ्यको नियमलाई परिपालना गर्दै घरमै छु । यद्यपी, आफ्ना साथीहरु र मतदातासँग विभिन्न माध्यमबाट छलफल र सम्पर्कमै छु ।

यतिबेला तपाई घरभित्र हुनुहुन्छ, घर बाहिर त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको छलफल र गर्मागर्मी बहस छताछुल्ल छ नि ?

तपाइँले भनेजस्तै अहिले नेकपाभित्रको आन्तरिक मामिला सबैको चर्चाको विषय बनेको छ । यो सबैको चासोको विषय बन्नु स्वभाविक पनि हो । किन कि नेकपा विगतको निर्वाचनबाट राज्य सञ्चालनको तहमा पुगेको पार्टी भएको हुनाले यसले आफ्नो पार्टीलाई मात्र प्रभाव पार्दैन । यसले सिङ्गो देश र देश भन्दा बाहिर पनि प्रभाव पार्ने भएकोले यसको चर्चा चल्नु स्वभाविक हो र नेकपाभित्र कतिपय उत्पन्न भएका केही कुरालाई ढंगले सञ्चालन गर्न नसक्दा र ढंगले बुझ्न नसक्दा त्यसको चर्चा परिचर्चा जनतालाई उत्साहित बनाउनेगरी, मतदातालाई उत्साहित गराउनेगरी, जनताले भरोसा गर्नेगरीभन्दा पनि जनतामा, मतदातामा प्रतिकुल असर पार्नेगरी कतिपय चर्चाहरु अहिले चलिरहेका कुरालाई मैले अस्वीकार गर्न सक्दिन । तर पछिल्लो कालमा समस्याका बावजुत नेकपाभित्र देखा परेको जुन समस्या थियो त्यो सकरात्मक दिशाबाट अघि बढ्दै छ । नेकपाभित्र जुन फरक फरक दृष्टिकोण थियो, त्यसलाई एकरुपताका साथ र आन्तरिक जीवनबाट व्यवस्थित गर्नेगरी बढ्ने शुभ संकेतहरु देखापरेको देखिन्छ ।

यो छताछुल्ल भएको विवाद तपाइँलाई मात्र होइन, सारा नेकपा समर्थित र नेकपा भन्दा बाहिरका सबैले थाह पाइसक्नु भएको छ । तपाई यो विवादको कुनै छेऊ कुनोमा हुनुहुन्छ वा हुनुहुन्न ?

व्यक्तिगत रुपमा म विवादमा पर्ने कुरा मलाई लाग्दैन । किनकी अहिले यो खासगरी नेकपाको सचिवालय तहमा रहेका साथीहरु र नेकपाको स्थायी कमिटीमा रहेका साथीहरुको बीचमा कमिटीका छलफल र बैठकहरु चलिरहेका छन् । यद्यपी, त्यो विषयको प्रभावले मलाई पनि अछुतो राख्ने कुरा त छैन । त्यहाँ उठेका अथवा नेकपाभित्र उठेका विषयलाई बुझ्ने क्रममा विविध देखिँदा मान्छेहरुले अहिले सामाजिक सञ्जालबाट आफ्ना–आफ्ना दृष्टिकोण जे सार्वजनिक गरिरहेका छन् त्यसको आधारबाट मलाई पनि कतिपयले भनिरहेका होलान । तर मेरा कारणले र त्यसबाट प्रभावित भएर मलाई मतदान गर्ने मतदातालाई म भन्दा तल रहेका कार्यकर्तालाई निरुत्साहित गर्नेगरी मैले त्यस्तो काम कारवाही गर्नुपर्छ भन्ने जस्तो लाग्दैन । त्यसबाट म सचेत नै छु ।

जिम्मेवारीको हिसावले तपाईँ पार्टीको केन्द्रीय सदस्य, कर्णाली प्रदेश सह–इञ्चार्ज पनि हुनुहुन्छ । प्रदेशभित्र विवादले अन्य तहमा कत्तिको प्रभाव पारेको पाउनुहुन्छ ?

अब त्यसमा उठेका कतिपय विषयहरु छन् । विवादहरु छन । सम्माननीय प्रधानमन्त्रीज्यू पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । कतिपय कुराहरु ल्यापसेस् होलान् तर उहाँले नेपाली जनताको भावनाअनुसार नेतृत्व गरिरहेका बेला लामो समयदेखि नेपालको सार्वभौमिकता र नेपालको सीमासम्बन्धी विषय थियो । त्यो सबैका कारणले गर्दा र नेतृत्वका हिसावले सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले नेकपाका आन्तरिक कुरालाई थाँती राखेर जनताको एक्यवद्घता प्रदर्शन गर्नुभयो । लामो समयदेखि थाँती रहेको सीमा विवादलाई समाधान गर्ने दिशामा नेकपा एकतावद्घ भएर लाग्नुपर्ने ठाउँमा त्यस्तो बेलामा नेकपाका आन्तरिक विवादहरु जुन देखापर्यो, त्यो मेरो विचारमा दुःखद् कुरा हो । यद्यपी, पछिल्लो समयमा त्यसलाई सकरात्मक ढंगले समाधान गर्ने गरी पार्टीको नेतृत्व तहमा छलफल चलेको अवस्था छ ।

विगतमा दुई अलग–अलग धार र अलग–अलग पृष्ठभूमीबाट आएका पार्टीहरु एकीकरण भएका कतिपय कामहरु पनि सम्पन्न भइनसकेको अवस्था, कमिटीका आकारहरु ठूलो भएकाले गर्दा दुईवटा कमिटीलाई एक ठाउँमा पुर्याउने काम गरी एउटा कमिटी प्रणाली जसरी चुस्त ढंगले बैठक नियमित सञ्चालन गर्नु पर्दथ्यो । त्यस्तो नहुँदा म भएको प्रदेशमा पनि कतिपय सांगठानिक समस्या देखापरेका छन । चाहे त्यो दैलेखको कुरा होस, चाहे त्यो जुम्लाको कुरा होस, विभिन्न जिल्लाहरुमा त्यस्ता समस्याहरु देखापरेको छ । तर हामी त्यसलाई समाधान गरेर अगाडि जाने अवस्था छ । अहिले मुलभूत रुपले नेकपाको तल्लो स्तरमा भन्दा पनि खासगरी नेतृत्व तहमा रहेको सचिवालयभित्र रहेका कमरेडहरुकै बीचमा विभिन्न विषयका सम्बन्धमा फरक–फरक दृष्टिकोण र विचार सार्वजनिक भएका कारणले गर्दा नेकपाका कतिपय काम कारवाही अबरुद्धको अवस्थामा रहेको कुरालाई स्वीकार गर्नुपर्छ ।

नेतृत्वको विवादले सामान्य मतदाताहरुमा प्रभाव पर्छ भन्ने कुरामा नेताले सोच्छन् कि सोच्दैनन् ?

स्वभाविक रुपले हिजो पनि जनता सचेत थिए । आज झन सचेत छन् । त्यसमा पनि नेकपा जनताको मतबाट निर्वाचित गरेर स्थानीय तह प्रदेश र संघीय सरकारको नेतृत्वदायी संख्यामा भएकाले नेकपाका प्रत्येक गतिविधिहरुलाई नेकपाका मतदातादेखि नेकपाका कायकर्ताहरुले नियालिरहेका छन् । हामी भन्दा फरक राजनितिक पार्टीका नेता कार्यकर्ताहरुले पनि हेरिरहेका छन् । त्यसैले मलाई कुनै अन्यथा लिनुपर्ने जस्तो लाग्दैन । त्यो थाह छ, तर त्यो थाह हुँदाहुँदै पनि कहिलेकाँही आन्तरिक जीवनमा हेर्दा नसोचेका घटना पनि हुन सक्छन् । अहिले जे भइरहेको छ, त्यसले नेकपालाई राम्रो गरिरहेको छैन । जसरी नेकपा चलाउने कुरा छलफल चलिरहेका छन् । त्यसले नेकपामा राम्रो गरेको छ भन्ने लाग्दैन । त्यसले स्वभाविक रुपले हामिप्रति भरोसा गर्ने र हामीलाई विश्वास गरेर मत दिएका जनताका मनलाई यसले असजिलो र अप्ठ्यारो बनाएको कुराले मलाई लाग्छ सबै नेताहरुले हेक्का राखेका छन र छौँ । त्यस कारणले त आफ्ना भनाई जे सूकै हुँदाहुँदै पनि फेरि नेकपाभित्र एकताबद्घ भएर सहमतिका आधारबाट हिड्नुको विकल्प नभएकै कारणले नेकपा त्यो बाटोबाट हिडिरहेको छ ।

अब यति धेरै हेक्का तपाइँले पनि राख्नु भएको छ र तपाइँभन्दा माथिका नेताहरुले पनि राख्नु भएको छ भने, पद लोलुप्ताको कारणले विवाद भइरहेको भन्ने हल्लाबारे पनि त थाह पाउनुभएको होला ?

नेकपा हिजोभन्दा अलग जिम्मेवारीमा छ । पहिला हामी धेरैजसो प्रतिपक्षमा हुन्थ्यौँ, आलोचलात्मक कुरा थियो, आज नेकपा आलोचना गर्ने र अर्कालाई भन्ने ठाउँमा छैन । आज नेकपा काम गर्ने ठाउँमा छ । आज भन्दा तीनवर्ष अगाडि स्थानीय तहमा देशका अधिकांश ठाउँमा नेकपाका प्रतिनिधिहरुले जितेका छन् । आज भन्दा अढाई वर्ष अगाडि भएको निर्वाचनमा प्रदेश र संघको निर्वाचनमा करिव दुई तिहाईको नजिक पुग्नेगरी जनाताले नेकपाका प्रतिनिधिहरुलाई विजय गराएको अवस्था हुँदा नेकपामा मात्र होइन, नेकपा भन्दा पनि बाहिर जनस्तरमा नेकपाले के काम गर्यो वा गरेन भन्ने छलफल विषय हो ।

पार्टीभित्र पनि उठिरहेको छ । पार्टीभित्र नियमित बैठक हुने अवस्था भएको भए मलाई लाग्छ, प्रत्येक तहको सरकारका बारेमा छलफल हुने बेला भइसकेको अवस्था छ । अब यी विषयहरु उठाउँदा कतिपयलाई लाग्न सक्छ र कतिपयले कसैको पद प्रतिष्ठामा जोडेर विचार बनाउन सक्ने अवस्था रहन्छ । त्यसमा सबैको जिम्मा लिन त म सक्दिन, तर जनताले थाह पाउनेगरी र मतदाताले सजिलै बुझ्नेगरी मैले विचार व्यक्त गरिरहेको छु । कुनै निश्चित पद र प्रतिष्ठालाई आधार बनाएर मैले विचार बनाइरहेको छैन । फेरि पनि के भन्न चाहन्छु भने, नेकपाबाट निर्वाचित भएर जो कार्यकारी अधिकार प्राप्त गरेको ठाउँमा जानु भएको छ । त्यसमा राम्रो ढंगले विचार पुर्याउनु भयो भने नेकपाको प्रतिष्ठा बढेर जान्छ । त्यस कारणले माथि पुगेको साथीहरुले गरेको काम कारबाहीलाई तथ्य परक कुरालाई सहज रुपले लिनु पर्दछ । यसै उठाइरहेको कुरालाई कतिपय ठाउँमा ढांगछोप गरेको स्थिति देखिन्छ ।

अब समिक्षाको बेला पनि भइसक्यो भन्नुभयो, तपाइँको तहबाट भन्दा कर्णाली प्रदेश सरकारबारे के छ मुल्यांकण ?

यो विषयमा मैले जनताको सम्मानित संस्था, जनप्रतिनिधिमुलक संस्था प्रदेशसभामा पनि प्रवेश गर्दा बेला बखतमा आफ्ना धारणा प्रस्तुत गर्ने गरेको छु । त्यसका आधारहरुबाट विभिन्न टिकाटिप्पणी सामाजिक सञ्जालबाट मलाई लक्षित गरी आएका छन् । त्यसलाई मैले सकरात्मक रुपमै लिएको छु । तर त्यसलाई उठाउने नाममा कतिपय साथीभाइहरुले मेरो चरित्रमाथि प्रश्न उठाउने गरी पदमाथि पनि एकदम लोलुप्ता भएको हिसावले कतिपय प्रश्नहरु उठाइरहेको अवस्था छ । मान्छेले आफ्नो जे स्तर हो त्यसअनुसार आफ्ना कुराहरुलाई उठाउने कुरामा म अन्यथा मान्दिनँ, तर हामीले राम्रा कामहरु पनि प्रदेशसभा मार्फत् गर्यौँ । प्रदेश सरकारले गर्न नसकिरहेको बेला हामीले प्रदेशका जनताका भावनाअनुसार मतदाताको मानोविज्ञानअनुसार प्रदेशको राजधानीको टुङ्गो लगायौँ, त्यसले कर्णाली प्रदेशप्रति नै सकरात्मक सन्देश दिएको एउटा अवस्था थियो । तर आज यो अढाइ वर्ष बितेको अवस्थामा म पनि जनप्रतिनिधि भएको नाताले मेरो मतदाताले मप्रति समिक्षा गर्ने कुरा उनीहरुको अधिकारको कुरा हो । त्यसलाई मैले सकरात्मक रुपले लिनुपर्ने अवस्था रहन्छ ।

कर्णाली प्रदेशमा जनप्रतिधिनिहरुले पनि पछिल्लो समयमा फैलिएको कोरोना भाइरसको प्रकोप छ, त्यसलाई जनस्तरसम्म व्यवस्थापन गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । तर कतिपय अवस्थामा कामकारबाहीहरु आएका अभिलेखका आधारबाट टिकाटिप्पणीबाट कतिपय आलोचनाका पात्र पनि बनिरहेको अवस्था छ । त्यसलाई सुधार गरेर जानुपर्ने हुन्छ । कतिपय अवस्थामा मैले कर्णालीका जनताका भावनाको पनि प्रतिनिधित्व गर्न सके वा सकिन त्यहाँका जनताले बुझ्ने कुरा हो । तर मलाई नै निर्वाचित गर्ने मतदाताहरु छन् । तिनीहरुले सोचेअनुसारको कामहरु हुन नसकिरहेका भए पनि मलाई लाग्छ प्रदेश सभाका छलफल समक्ष मैले प्रस्तुत गरेको एउटा अवस्था देख्दा जुन किसिमको जनताले आशा अपेक्षा गरेअनुसारको हामीले काम गर्न नसकेरै होला प्रदेश सरकारप्रति सकरात्मक टिप्पणी पाइरहेको अवस्था छैन । केही कुराहरु अभिव्यक्त गर्दा कतिपयलाई के लाग्न सक्छ भन्दा यसले त विरोधका निम्ती विरोध गर्यो ।

यसले त कुनै पद प्राप्तीका लागि विरोध गर्यो भन्ने अर्थमा पनि कतिपय साथीहरुले त्यस अनुसारको टिप्पणी गरेको मैले देखिरहेको छु । कर्णाली प्रदेशमा नेकपाको तर्फबाट रहेको सरकारले कुनै पनि काम गरेर देखाउने स्थिति रहेन । हामीलाई मतदान गरेका मतदाताहरुबाट नै पुनर्विचार गर्न सक्ने एउटा अवस्था रहन्छ भन्ने कुरालाई बुझेर नै हामीले कामहरु अगाडि बढाउनुपर्ने अवस्था देखिन्छ । प्रदेश सरकारले तीन वटा निती तथा कार्यक्रम पेश गर्यो, तीनवटै बजेट । प्रदेश सरकारले अढाई वर्षको कार्यकाल बिताएको अवस्था छ । हामीले कति बजेट खर्च गर्न सक्यौँ वा सकेनौँ भन्ने बारेमा जनताले देखेको एउटा अवस्था छ । महालेखाको प्रतिवेदन हाम्रो बीचमा प्राप्त भएको एउटा अवस्था छ । संसदीय समितिहरु छन् । यसरी हेर्दा विगतको काम कार्यलाई समिक्षा गरेर पुनर्विचार गर्न सकिएन भने जनताको जे विश्वास थियो त्यो विश्वास कायम राख्न सकिदैन भन्ने अर्थमा मैले विषय उठाएको हो ।

प्रदेश सरकारलाई प्रभावकारी बनाउन तपाईको भूमिका चाहिँ केही हुँदैन ?

तपाइँले भनेजस्तै के हो त भन्दाखेरी बाहिरको वस्तुस्थितिको चित्रणका सन्र्दभमा कर्णालीका नागरिकको रुपमा कुनै विभेद्, मतभिन्नता हुनुपर्छ भन्नेमा म त्यस्तो देख्दिनँ । स्वयं जो सरकारमा रहेका साथीहरुले पनि अनौपचारिक रुपमा कुरा गर्दा पनि त्यो परिस्थितिअनुरुपको महसुस गरेको म देख्छु । हिजो हामीसँग संरचना थिएन, हिजो हामी नयाँ थियौँ भन्ने अवस्था थियो । तर आज हामिसँग त्यो अवस्था रहन्न । संरचनाहरु छन्, हामीलाई चाहिए जति नभएपनि अहिले केही न केही हामीसँग स्रोत र साधन रहेको अवस्था छ । त्यसको हामीले भरपुर सदुपयोग प्रयोग गर्न सक्ने अवस्था रहन्थ्यो । मेरो विचार के हो त भन्नाले हामीसँग संरचना भएन, हामीसँग कानून भएन, हामीसँग स्रोत भएन भनेर जनताले हामीलाई माफी दिने अवस्थामा नेकपा छ भन्ने मलाई लाग्दैन ।

त्यसकारणले पनि मैले पार्टीको प्रदेश कमिटीको माध्यमबाट प्रदेशमा रहेको संसदीय दलभित्र त्यसले ल्याउने निति तथा कार्यक्रम र बजेटको माध्यमबाट, विभिन्न समितिमा रहेका छलफलको माध्यमबाट, समयमा बजेटको कार्यान्वयनका सम्बन्धमा गरेका छलफलका माध्यमबाट, आफ्ना सुझावहरु प्रर्याप्त उहाँहरुले मागेका बेला कुनै कञ्जुस्याँई नगरिकन दिने गरेको छु । तर म फेरि पनि विनम्रताका साथ के अनुरोध गर्न चाहन्छु भने मन्त्री भएको साथी सबै ठाउँमा जाने, सबैले जे जे भन्छन् त्यो हुन्छ, हुन्छ भन्दै आउने, त्यो सरकारका तर्फबाट गर्छु भन्ने, एकछिनको लागि जनतालाई खुसी बनाउने र पछि निराश गराउने जस्तो काम गर्दा समस्या हुने गरेको छ । संसदका तर्फबाट एउटा नीति तथा कार्यक्रम पास गर्ने, एउटा बजेट पास गर्ने, तर त्योभन्दा फरक काम गर्ने अहिले सरकारमै रहेका साथीभाईहरुले गर्ने गरेका छन् । यसले सबैलाई अलमलमा पारेको छ ।

उहाँहरुलाई ट्रयाकमा ल्याउने तपार्इँहरुको पनि दायित्व होला नि ?

त्योभित्र म पन्छिन सक्दिनँ ।मैले दिने भनेको सल्लाह हो । पाटी कमिटीमार्फत सुझाव दिने हो । म साँसद भएकोले सभामा मैले व्यक्त गरेर हुनसक्ने कुरा हो । दलको बैठक हुँदा मैले त्यहाँ सल्लाह सुझाव दिन सकिने भयो । कतिपय सरकारका मन्त्री साथीहरुले आफ्ना विषयगत छलफल गरेका बेलामा त्यो मुख्यमन्त्री होस, चाहे अरु मन्त्री जतिवेला उहाँहरुले सल्लाह सुझाव माग्नुहुन्छ, त्यति बेला मैले दिने गरेकै छु । तर त्यस अनुसार हिड्ने वा नहिड्ने त्यो त सम्बन्धितको कुरा हो । दलीय व्यवस्था भएको हुनाले आज उहाँहरुले काम गरे वा नगरेका आधारबाट आज उहाँले मात्र सजाय पाउने भए मैले केही नभने पनि हुन्थ्यो, तर त्यो सजाय नेकपाले पाउन्छ । हामी सरकारमा हौला वा नहौलाँ तर पार्टीको सदस्य त हौँ । एकले बिगार्दा त्यसको सजायँ हामी सबैले पाउनुपर्छ । त्यस आधारबाट कतिपय विषयहरु क्रमशः जनताका बीचमा पनि भन्नुपर्ने स्थिति भएकाले मैले तपाइँसँग यो कुरा राखेको हो ।

तपाईं र जो मन्त्री हुनुहुन्छ, उहाँहरुबीच संवाद विहिनताकै अवस्था जस्तो पो देखियो त ?

यसमा संवादविहीनता भनेको होइन । जस्तो के हो भन्दा स्वाभाविक रुपले सरकार नै कम्युनिष्ट पार्टी होइन । पार्टी अलग कुरा हो र सरकार अलग कुरा हो । सरकार संविधान अनुसार चल्छ । मन्त्रीहरु त्यहाँको नियमअनुसार चल्नु पर्ने हुन्छ । त्यसैले सरकारको मर्यादा म जतिको मान्छेले बुझ्नु पर्ने हुन्छ । त्यसकारण उहाँहरुले आफ्नो ढंङ्ग नपुर्याएको कुरा दर्साएको मात्रै हो । हाम्रो नेपाली संस्कार कस्तो छ त भन्दा समयले जब चेप्दै आउँछ, आफूलाई योग्य देखाउनका निम्ती अर्को कुनै पात्रलाई देखाएर पन्छिने काम गर्नुहुन्छ । म त्यस्तै देखाइने एक पात्र पर्छु । कर्णाली प्रदेश सरकारको काम कारबाही मेरो कारणले नभएको भन्ने कुरा उहाँहरुले व्यक्त गरेको कुरा म देख्छु, सुन्छु । फेरि पनि म उहाँहरुलाई के भन्छु भने उहाँहरुले ल्याएको बजेट पास भएको छ, उहाँहरुका बैठक बसेका बस्यै छन् । मैले कँहीकतै गएर यो काम रोक्नु भनेको छैन । यो काम गर्न दिन्न भनेको छैन । तर देखाउँदा मलाई देखाइन्छ । यत्रो सरकार म एकजना साँसदको पछाडि किन लागेको छ ? अचम्म लाग्छ ।

यति कुरा सुनिसकेपछि कर्णाली प्रदेश सरकारले काम गर्न सकेन भनेर भन्न सकिन्छ त्यसो भए ?

मैले संसदीय दलको बैठकमा सरकारका सबै साथीहरुसँग भनेको कुरा हो यो । त्यो भन्दा अगाडि नेकपाका शीर्ष नेता म भन्दामाथि रहेका सबैसँग मैले विषय प्रवेश गराएको हो । कामको मुल्याङ्कणको आधारबाट, उहाँको छाँटकाँटको आधारबाट, उहाँले प्रस्तुत गर्नुभएका नीति तथा कार्यक्रमका आधारबाट, म के निश्कर्षमा पुगेको हुँ भने, उहाँहरुले आफ्नो जति योग्यता हो, त्यो देखाइसक्नुभयो । उहाँहरुले नसक्नुभएकै हो । पछिल्लो बजेटको जुन अवस्था देखियो, त्यो नै काफी छ । त्यसैकारणले म अहिले नै तपाइले भने जस्तै उहाँलाई भन्न चाहन्नँ । किनकी उहाँले गल्ती गर्दा उहाँले मात्रै सजाय पाउनु हुन्न । त्यो सबै नेकपाले सजाय पाएको हुन्छ । हुन त अहिले कतिपय सञ्चारकर्मी साथीहरुले कर्णाली प्रदेश सभाभित्र मलाई प्रतिपक्षमा देख्ने र प्रतिपक्षलाई सत्ता पक्षमा रहेको जस्तो गरेर देखाउने गर्नुभएको छ । तर म अहिले नै त्यो प्रतिपक्षका बारेमा बोल्न चाहन्न, उसको भूमिका कस्तो छ भनेर भन्न चाहन्न । नेकपाले प्राप्त गरेको दुई तिहाइ भनेको जे पनि गर्नको लागि होइन, दुई तिहाई प्राप्त गर्नसाथ कानून मान्न नहुने, विधिविधान मान्न नहुने, यसले सिमा नमानु पर्ने होइन, नेकपा जनताको सरकार हुनु भनेको हिजोको भन्दा राम्रो हुने कुरा हो । त्यो सुशासनका क्षेत्रमा, आर्थिक सञ्चालनका मामिलामा, योजना छनोटका मामिलामा, विना भेदभाव पक्षपात नगर्ने मामिलामा, हिजोको भन्दा सर्वकृष्ट हुनुपर्ने अवस्था हो ।

तपाई त मुख्यमन्त्री बन्न लागिरहनुभएको छ भन्ने हल्ला छ, प्रदेश सरकारसँग सन्तुष्ट पनि हुनुहुन्न खास कुरो के हो ?

आजका मितिम्म मैले तपाइँले भनेको जस्तो केही गरेको छैन । यद्यपी, निर्वाचनका बेला म त्यतिबेला मोर्चाको तर्फबाट उम्मेद्वार थिएँ, जनता र कार्यकर्ताले अनुमान गरेको कुरा मुख्यमन्त्री नै हो । राजनीतिक अगुवाईको हिसावले अनुभवी मान्छे हो भन्ने आधारबाट पनि होला । पछि पार्टी एकता नहुँदै त्यति बेलाको नेकपा एमाले संसदीय दलले मलाई सर्वसम्मत् दलको नेतामा चयन पनि गरेको हो र संख्यात्मक हिसाव गर्ने हो भने ४० सदस्यीय प्रदेशसभाभित्र त्यो बेलाको एमालेको मात्रै २० साँसद रहेको अवस्था हो । तर आज त्यस्तो अवस्था छैन । आज म जनताको प्रतिनिधि भएको हुनाले प्रदेश सभाको सदस्यमा छु । त्यसको सिमामा रहन सक्दछु । नेकपाको तर्फबाट राम्रो काम जनतालाई देखाएर नेकपालाई दिर्घायु बनाउने कुरामा मेरो ध्यान केन्द्रित हुनुपर्ने हुन्छ । यदी नेकपाका नाममा राम्रो काम गर्छ भने सर्मथन गर्न सकिन्छ, नेकपाका नाममा कसैले सार्वजनिक जिम्मेवारीमा बसेर गलत काम गर्दछन् भने कमिटीभित्र हुँदा कमिटी भित्र नै छलफल गर्छु । तर कसै कसैले जस्तो सार्वजनिक बेइज्यतीमा उत्रिने काम गर्दिनँ । मेरा पनि केही कमजोरी हुनसक्छन् । त्यसको भागीदार म बन्न सक्छु । आउने जिम्मेबारी काँधमा बोक्न सक्छु ।

कर्णालीमा प्रदेश सरकारका सन्दर्भमा जो जसले जुन जुन जिम्मेबारी लिएर मुख्यमन्त्री, मन्त्री वा त्यहाँका सचिवालयहरुमा काम गरिररहनुभएको छ । उहाँहरुले जिम्मेबारीलाई गतिलो गरी निर्वाह गरौँ । सरकारले लिएका नीति तथा कार्यक्रम, बजेट तथा योजना र आफैले निर्माण गरेका कतिपय ऐन, कानून, कार्यविधिलगायतलाई कार्यान्वयन गरौँ । स्थानीय तह र संघीय सरकारसँगको सम्बन्धलाई समन्वयकारी ढंगले प्रभावकारी बनाऔँ । अहिलेसम्म गरेका कामको एक पटक आत्ममूल्याङ्कन पनि गरौँ । यदी सकिँदैन भने अरु कसैलाई यसको आरोप नलगाऔँ 

सामाजिक सञ्जालमा त तपाइँलाई जोडेर पोष्टर पम्प्लेटसम्म तपाइँका समर्थकले बनाइसके, यो सबै यमलालले नै गर्न लगायो भनेर भन्छन् ?

त्यस्तो त गर्ने कुरा नै रहेन । फेसबुके मुख्यमन्त्री बन्न मलाई के को रहर ? बनाउनेले बनाइदिए के गर्नु ? प्रदेश सरकारले राम्रो गरोस् भन्ने आसयका साथ म प्रस्तुत हुन्छु । बुझ्नेले अर्कै बुझिदिन्छन् । हालको मन्त्रिमण्डलले राम्रो काम गरे मैले टाउको दुखाउनुपर्ने नै हुन्थेन । प्रदेश सरकार प्रभावकारी बन्नुपर्ने नभए विकल्प दिनुपर्ने भन्ने विषयमा मैले यसअघि मुख्यमन्त्रीकै अध्यक्षतामा बसेको प्रदेशको संसदीय दलभित्र, प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग तथा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएको अर्को छलफलमा समेत भनिसकेको छु । यस्ता कुरा म पार्टीका विभिन्न तहमा भन्छु तर हल्ला गर्दै हिड्दैन ।

त्यसो भए यो अवस्थाबाट निकास र कर्णालीको विकास कसरी सम्भव छ त ?

हामीले खोजेकै निकाश र कर्णालीको विकास नै हो । सवैभन्दा पहिला त जो जसले जुन जुन तहको जिम्मेबारी लिनुभएको छ । उहाँहरुले त्यही त्यही तहको कामलाई कसरी राम्रो बनाउने, कसरी प्रभावकारी ढंगले सञ्चालन गर्ने भन्ने कुरा सोच्नुपर्छ । पार्टीले लिएका सपना, पार्टीले निर्धारण गरेको गन्तव्यलाई भेट्टाउनका लागि सवै आफ्नो आफ्नो तहबाट लाग्नुपर्छ । विगतमा जो जुन साविक भनिने दलबाट प्रतिनिधित्व गरेर एकतामा आएको भए पनि अव विगतको मान्यतालाई ब्यूँताउनतर्फ कोही कसैले ध्यान नदिऔँ । पार्टी यसरी बन्दैन । एउटा पार्टी अर्को कुनै पार्टीमा समाहित भएको होइन । यो त दुई वटा पार्टी एक ठाउँमा आएका हुन् ।

त्यसकारण त्यसैअनुसार सवै नेता कार्यकर्ताले बुझ्नुपर्छ । नेता नेताबीच हुने बहस, छलफल, असहमति जे जे छन् ती पार्टीका कमिटी भित्रै गरौँ । यो पार्टीको सन्दर्भमा भयो है । कर्णालीमा प्रदेश सरकारका सन्दर्भमा जो जसले जुन जुन जिम्मेबारी लिएर मुख्यमन्त्री, मन्त्री वा त्यहाँका सचिवालयहरुमा काम गरिररहनुभएको छ । उहाँहरुले जिम्मेबारीलाई गतिलो गरी निर्वाह गरौँ । सरकारले लिएका नीति तथा कार्यक्रम, बजेट तथा योजना र आफैले निर्माण गरेका कतिपय ऐन, कानून, कार्यविधिलगायतलाई कार्यान्वयन गरौँ । स्थानीय तह र संघीय सरकारसँगको सम्बन्धलाई समन्वयकारी ढंगले प्रभावकारी बनाऔँ । अहिलेसम्म गरेका कामको एक पटक आत्ममूल्याङ्कन पनि गरौँ । यदी सकिँदैन भने अरु कसैलाई यसको आरोप नलगाऔँ ।