१ माघ २०७७, बिहीबार ००:००

‘माओवादी’ भान्सामा माधव कमरेडको भोज !


बैंकको जागिर खाँदाखाँदै कम्युनिष्ट आन्दोलनमा आएका माधव नेपाल पार्टीको खर्च आम्दानी पारदर्शी र संस्थागत गर्ने मामिलामा अब्बल छन् भन्ने विश्वास गरिन्छ । तर उनी अहिले अकल्पनीय आर्थिक अपारदर्शिताको सुरुङभित्र प्रवेश गरेका छन

निर्मल भट्टराई

तत्कालीन एमाले र तत्कालीन माओवादी बीच एकता प्रक्रियाले पुर्णता नपाउदै भान्सा छुट्याउने दौडधूप शुरु भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीलाई हुदै नभएका आरोप लगाएपछि, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट षणयन्त्रपूर्वक हटाउने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयासलाई नेकपाका बरिष्ठ नेता माधव नेपालले पनि साथ दिएपछि यो दौडधूप शुरु भएको हो ।

प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर राज्य सञ्चालन गरिरहेका प्रधानमन्त्रीमाथि छापामार शैलीमा अन्तरघात भएपछि ताजा जनादेशमा जान पाउने प्रधानमन्त्रीको संवैधानिक अधिकार प्रयोग गरी प्रधानमन्त्री उक्त चक्रव्यूहबाट बाहिर आएपछि नेकपामा तीव्र ध्रुवीकरण र कित्ताकाट भएको छ । के पी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको संस्थापन पक्षले देशभर आयोजना गरेका आमसभा, भेला र बैठकले नेकपा माथि कित्ताकाट भए पनि तृणमूल तहमा कित्ताकाट भएको छैन र हुने छैन भन्ने प्रमाणित गरेको छ । प्रायः सबै स्थानीय नेता, कार्यकर्ता र मतदाता विभाजित हुन अस्वीकार गरेको प्रष्ट भईसकेको छ ।

नेकपा केन्द्रको कित्ताकाटमा केही अशोभनीय दृश्य देखिएका छन् । करिब डेढ दशक जनताको बहुदलीय जनवादको प्रमुख ‘व्याख्याकार’ बनेर बल्खु दरवारमा हालीमुहाली गरेका, के पी ओलीको निशर्त सहयोगमा प्रधानमन्त्री बनेका माधव नेपाल अहिले उछिट्टिएर ‘माओवादी’ कित्तामा पुगेका छन् । पेरिसडाँडातिर पुःन शुरु भएको प्रचण्डको खटन-पटनको ‘माओवादी’ भान्सामा उनको भोज शुरु भएको छ । भुक्तभोगीहरूलाई राम्ररी थाहा छ-‘माओवादी’ भान्सामा भोज गरिरहन त्यति सजिलो छैन । त्यो भोजमा गाँसैपिच्छेढुङ्गै ढुङ्गा लाग्नेछन् ।

कुनैबेलाका माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका मितिसम्म आफूले माओवाद त्यागेको औपचारिक रुपमा घोषणा गरेका छैनन् । माओवादको वैचारिक जगमा भएको दशबर्षे माओवादी जनयुद्धलाई अहिलेसम्म जयजयकार गर्न छाडेका छैनन् । माओवादी जनयुद्धको सकारात्मक-नकारात्मक पक्षको द्वन्दवादी समीक्षा गर्न पटक्कै तयार छैनन् । उनीहरुको विचारमा ‘जनयुद्ध’ मात्र महान हो, यो अवधिमा कुनै कमजोरी छैनन् । माधव नेपालको भित्री मनले यसो भन्न मान्दैनन् ।

माधव नेपालका आफ्ना एक नम्बरका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अद्यापि कम्युनिष्ट पार्टीमा दुई लाईन संघर्ष चलिरहन्छ भन्ने विश्वास गर्दछन् । दुई लाईन संघर्षबारे माओको व्याख्या यस्तो छ-” पार्टी भनेको ‘विपरीतहरूको एकत्व’ हो । पार्टीमा एकातिर नेतृत्वदायी सर्वहारा वर्गीय मार्क्सवादी-लेनिनवादी-माओवादीतप्का हुन्छ भने अर्कातिर खराब विचार र दृष्टिकोण भएको, जुन अन्ततोगत्वा समाजमा विद्यमान अर्को वर्गको प्रतिनिधित्व गर्दछ, तप्का हुन्छ ।” माओ भन्दछन्-“पार्टीभित्र मार्क्सवाद र अवसरवादबीच को संघर्ष विभिन्न चरणमा चलिरहन्छ, यसको समाधानको लागि विभिन्न उपायको अवलम्बन गर्नुपर्दछ ।”

अब प्रश्न उठ्दछ,छुट्टै पार्टी बनाउन कस्सिएको प्रचण्ड-माधव समूहमा कुन पक्षचाँहि ‘सर्वहारा वर्गीय मार्क्सवादी-लेनिनवादी-माओवादी’ हो र कुन पक्षचाँहि ‘अर्को वर्गको प्रतिनिधित्व गर्ने अवसरवादी’ हो ? अर्थात् प्रचण्ड-माधव समूह भोलि पार्टी बनिहाल्यो भने त्यहाँ दुई लाईन संघर्ष कसरी चल्ला ?
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र एकता भएदेखि नै माधव नेपालले बजाएको एकोहोरो बाँसुरी ‘विधि र पद्धति’को बाँसुरी हो । तर विडम्वना, अहिले माधव नेपालले निःशर्त नेता मानेका ‘प्रचण्ड’लाई विधि पद्धति कुन चराको नाउँ हो थाहा छैन । एउटा दृष्टान्त हेरौं ।

२०७० सालको दोश्रो संविधानसभाको निर्वाचनपछि तत्कालीन एमाओवादी पार्टीलाई विधि-पद्धतिमा चलाउने भनेर विराटनगर सम्मेलनमा जानु अघि एमाओवादी पार्टी हेडक्वार्टरले एउटा विधान जारी गरेको थियो । तर विराटनगर सम्मेलनमा त्यो विधानका कुनै धारा उपधाराको प्रयोग गरिएन । विराटनगर सम्मेलनमा प्रचण्ड स्वघोषित अध्यक्ष बने र सम्मेलनपश्चात् बनेको केन्द्रीय समितिले अध्यक्ष बाहेक अरु पदाधिकारीमा “सबै उम्मेदवार, सबै मतदाता” को आधारमा निर्वाचन गरियो, जुन विधानको कुनै धारामा उल्लेख थिएन । प्रचण्ड आफ्नो सुविधाअनुसार चले, विधान विर्से । प्रचण्डको आदेशलाई कानुन मान्दै आएकाहरुले त्यसैमा सही थपे ।

बैंकको जागिर खाँदाखाँदै कम्युनिष्ट आन्दोलनमा आएका माधव नेपाल पार्टीको खर्च आम्दानी पारदर्शी र संस्थागत गर्ने मामिलामा अब्बल छन् भन्ने विश्वास गरिन्छ । तर उनी अहिले अकल्पनीय आर्थिक अपारदर्शिताको सुरुङभित्र प्रवेश गरेका छन् । युद्धकालीन अवस्थामा हतियारको प्रभावले उठृको अकूत चन्दा र शान्ति प्रक्रिया पश्चात् इच्छापूर्वक दिइएको चन्दाले अधिकांश नेता कार्यकर्ताको रहन सहन, बानी व्यहोरा र इमान्दारीमा समेत कायापलट ल्याइदियो । दस वर्ष सम्म हतियारलाई अन्तिम सत्यको रुपमा बुझेको पार्टीमा शान्ति प्रक्रियामा आए पछि शक्तिको स्रोत केवल पैसा मात्र हो भन्ने गलत अवधारणा सर्वत्र फैलियो । आफ्नो गुट मजबुत बनाउन समेत नेताहरुले रकमको इस्तेमाल गर्ने गलत परिपाटीको समेत सुरुवात भयो ।

पार्टीले आफ्नो जीवनको सम्पूर्ण व्यवस्थापन गर्छ भन्दै आश्वस्त पारिएका लडाकूहरुलाई घर त फर्काइयो तर उनीहरुलाई आत्मनिर्भर बन्नुको सट्टा नेताहरुले बेलाबखत दिने रकमको आसे कार्यकर्ताको रुपमा व्यवहार गर्न थालियो । पार्टीका कुनै सांगठनिक गतिविधि वा अभियान संचालन गर्नुपूर्व “परिचालन खर्च” माग्ने र दिने परिपाटीलाई संस्थागत गरियो । कार्यकर्तामा नेतासंग अथाह पैसा हुन्छ भन्ने अवधारणाको विकास हुन पुग्यो । सोचे जति पैसा दिन नसक्ने नेता कार्यकर्ताको नजरमा “नेता” रहेन । माओवादी भित्र देखिएको व्यापक असन्तुष्टि विचार र संगठनमा भन्दा पैसामा केन्द्रित रह्यो । माओबादीमा आर्थिक विषय संबन्धित तहका नेताको तजबीजको विषय बन्दै आयो। प्रचण्डसंग छुट्टिएका किरण,बाबुराम र विप्लवले ‘प्रचण्डले सम्पूर्ण श्रोत र साधनको एकलौटी केन्द्रीकरण गरेको’ भन्ने आरोप लागिरह्यो ।

नेपाली राजनीतिका एक चतुर खेलाडी माधव नेपाललाई जीवनको उत्तरार्धमा यो भाँउतो किन व्यहोर्नु पर्थ्यो र !

बीस बर्षभन्दा घोकेको जनताको बहुदलीय जनवादको डि-लर्निङ गरेर माओवादका राता किताब किन पल्टाउनु पर्थ्यो र !

दशकौं आफूले हृदयदेखि नै दुत्कारेको माओवादी जनयुद्धको मुठ्ठी उठाएर जयजयकार गर्ने अभ्यास गर्नु पर्थ्यो र !

करिब पाँच दशकसम्म के पी शर्मा ओलीसंगका ‘मायाप्रीति’ र ‘पारपाचुके’का कथा पेरिसडाँडाको चौरमा बदाम खाँदै किन सुनाउनु पर्थ्यो र ! कठै कमरेड माधव नेपाल !

Quick Links