जनता टाइम्स

२ माघ २०७७, शुक्रबार १६:०९

खुल्यो प्रधानमन्त्री-न्यायाधीश भेटको शतप्रतिशत झुटो समाचार तयार पार्ने कारखानाको पोल, यस्तो छ तथ्य


काठमाडौं, माघ २ । केही समययता नेपालमा झुटो समाचारको खेती निकै बढेको छ । प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई खुइल्याउनकै लागि झुटो समाचार तयार पार्ने कारखाना नै रहेको तथ्य यसअघि नै खलिसकेको छ । त्यही कारखानाले आज अर्काे शतप्रतिशत झुटो समाचार तयार पारेको छ, सर्वाेच्च अदालतमा बिचाराधीण रहेको संसद बिघटन सम्बन्धी बिषयलाई लिएर । सो समुहले सर्वोच्च अदालतका चारजना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटे भन्ने शतप्रतिशत झुठा समाचार प्रकाशन गरी अफवाह फैलाउन खोजेको छ ।

‘अदालतले संबिधान होइन, हाम्रो आदेश मान्नुपर्छ’ भन्दै न्यायाधीश धक्म्याइ रहनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठको योजनामा अदालतलाई प्रभावित पार्न यस्तो शतप्रतिशत झुटो समाचार तयार पारिएको जनताटाइम्सले तथ्य जाँच गर्दा देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुइल्याउन तथा बदनाम बनाउन, विघटन सम्बन्धमा परेको मुद्दालाई प्रभावित गर्न तथा मुलुकलाई अस्थिरतामा लैजान झुठा समाचारको बाढी नै ल्याइएको छ । झुठा समाचारका बाढीमा प्रधानमन्त्रीले न्यायाधीशहरुलाई भेटेको भन्ने समाचार पनि ल्याइएको हो ।

संवैधानिक इजलाशका एकसहित सर्वोच्च अदालतका अन्य तीनजना न्यायाधीशसँग प्रधानमन्त्री केपी ओलीले गोप्य रुपमा भेटेको भनी झुठा समाचार व्यापक रुपमा फैलाउन थालिएको छ । यस्तो समाचार फैलाउनमा केही अनलाइन प्रयोग भएका छन् । ती अनलाइनहरुमा आएका समाचार अनुसार पुस २६ र २७ गते संवैधानिक इजलाशका न्यायाधीश सपना मल्ल प्रधान तथा सर्वोच्चका न्यायाधीशहरु दीपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीलाई भेट्नुभएको हो ।

अफवाहका लागि फैलाइँदै गरेको झुठा समाचारमा न्यायाधीशहरु र प्रधानमन्त्रीले भेटेको मिति मात्र नभएर समय पनि दिइएको छ । झुठा समाचारमा उल्लेख भए अनुसार २७ गते दिउँसो १ः२० देखि २ः४५ सम्म न्यायाधीशद्धय सपना मल्ल र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीसँग भेट्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर उहाँहरुले भेट्नुभएको लेखिएको छ ।

सबैको ध्यान न्यायालयमा परेको बेला सर्वोच्चका न्यायाधीशहरु खुलेआम प्रधानमन्त्रीलाई भेट्न गएका होलान् त ? यो प्रश्न हामीले राख्यौं प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंसँग । पहिले त उहाँले भन्नुभयो– ‘यस्ता अनेक झुठा समाचारको बाढी नै ल्याइएको छ । कुन मिडियालाई पत्याउने, कुनलाई नपत्याउने भनेर अब आम जनताले विवेक प्रयोग गर्नुपर्ने बेला आएको छ ।’

बजगाईंका अनुसार झुठा समाचारमा उल्लेख भएको समयमा प्रधानमन्त्री ओली न्यायाधीशहरुसँग नभएर कानुनविद्हरुसँग हुनुहुन्थ्यो । ‘आफ्नो पक्षबाट बहस गर्ने वकिलहरुसँग प्रधानमन्त्री सो समयमा छलफलमा हुनुहुन्थ्यो । वकिलको ठाउँमा ‘न्यायाधीश’ लेखेर समाचार फैलायो भने मानिसले पत्याउन पनि सक्छन् भन्ने नियत देखियो,’ प्रधानमन्त्रीको निवासमा आउनेहरु सबैको अभिलेख राखिने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘शतप्रतिशत फेक न्यूज हो । यो लेखिएको समाचार होइन, आविष्कार गरिएको समाचार हो ।’

जतिबेला प्रधानमन्त्रीले न्यायाधीशहरुसँग भेट्नुभयो भनेर समय समेत किटान गरियो, ठिक त्यो समयमा प्रधानमन्त्री ओलीको साथमा सुवासचन्द्र नेम्वाङ, अग्नि खरेल, बाबुराम दाहालसहित करिब १० जना कानून ब्यवसायीबीच छलफल भइरहेको थियो ।