Untitled Document

थोरैले चिनेको त्यो रवीन्द्र, सिंगो देशलाई शोकमा डुवाएको यो रवीन्द्र

झलक सुवेदी

आज रवीन्द्रलाई सिंगो देशले चिन्छ तर, ०४६ साल वरपरका रवीन्द्रलाई निकै कमले चिन्छन् । रवीन्द्रको राजनीतिक यात्रा गाउँमै रहेको वामपन्थी प्रभावबाट थालिएको थियो । कमरेड भुवन सुवेदी त्यस भेगमा भूमिगत रूपमा काम गर्थे । त्यसअघि कमरेड प्रकाश नेपाल थिए । उनीहरूले नै रवीन्द्रलगायतका विद्यार्थीलाई संगठनतिर आकर्षित गरेका थिए । उनीहरूकै योजनामा हामी विद्यालयमा गएर प्रारम्भिक कमिटी बनाउन पुगेका थियौँ । शान्ति उदयमा अखिलको काम गर्दै गरेका रवीन्द्रसँग २०४० बाटै भेट भए पनि हाम्रो निकटता र सहकार्य भने २०४४ देखि बढेको हो । म २०४४ सालमा एमए पढ्न आउँदा ऊ बिकम पढ्दै थियो ।

स्ववियु सभापति तुलबहादुर गुरुङ, सचिव रामनाथ ढकाल र विद्यार्थी नेता विजय गुरुङ अपहरणमा परेपछि पार्टीले खटाएकाले म क्याम्पसमा पाश्र्वभागमा बसेर नेतृत्व गर्न पुगेको थिएँ । त्यतिवेलासम्म ऊ जुझारु कार्यकर्ताको अघिल्लो लाममा आइसकेको थियो । अपहरण काण्ड विरोधी आन्दोलनमा ऊ अग्रभागमा थियो । स्ववियु निर्वाचनमा व्यवस्थापन संकायको नेताका रूपमा कार्यकर्ताले एकमतले उसलाई अघि बढाए । नागढुंगाको कुनै बोर्डिङ स्कुलमा पढाइरहेको भए पनि ऊ स्ववियु सदस्यमा निर्वाचित भयो र काम गर्न थाल्यो ।

सायद रवीन्द्र त्यतिवेलासम्म आफ्ना मामा रमेश पौडेलको अर्चलबोटमा रहेको घरमा बस्ने गथ्र्यो । मामा पञ्चायतका नेता थिए । स्ववियुमा निर्वाचित भएसँगै उसको क्लासमेट रहेको मेरा भाइ दीपक र कान्छो भाइ गान्धीसँगै बगरमा रहेको हाम्रो पुरानो डेरामा बस्न थालेको थियो । साँझको खाना खान म प्रायः त्यहीँ पुग्थेँ । प्रहरीसँग लुकामारी चलिरहने भएकाले म दिउँसो बाहिर निस्कन्नथेँ । त्यस क्रममा हो मैले उसलाई थप नजिकबाट चिन्न थालेको ।

०००

यता क्याम्पस स्ववियुमा सक्रियतापूर्वक काम गर्ने कार्यकर्ताको खाँचो थियो र अखिलमा पनि नयाँ कार्यकर्ता हुर्काउनु थियो । स्ववियु उपसभापति छैटौँका जगतप्रसाद कहिलेकाहीँ मात्र देखा पर्थे । सचिव लक्ष्मी कार्कीको जिम्मेवारी अखिलको केन्द्रीय महिला विभागका अध्यक्ष र गण्डकी–धौलागिरि इन्चार्जका रूपमा बाहिरफेर धेरै थियो । सहसचिव रहेका कास्की हंसपुरका राजेन्द्र न्यौपाने पारिवारिक जिम्मेवारीका कारण पूर्णकालीन राजनीतिमा आउने सम्भावना थिएन । (उनको चार वर्षअघि कालिकोटमा भएको बस दुर्घटनामा परी मृत्यु भइसकेको छ) । कोषाध्यक्ष निलबहादुर पुन प्राविधिक र व्यवस्थापकीय काममा दक्ष भए पनि राजनीति सिक्दै थिए ।

एकाध महिनाको मेरो अध्ययनमा रवीन्द्र नै भरोसायोग्य विकल्प देखिए । एक दिन साँझपख क्याम्पसगेटबाट ऊ साइकलमा र म पैदल हिँड्दै गर्दा मैले उसलाई प्रस्ताव राखेँ, अब टिचिङ छाड्ने र राजनीतिमा सक्रिय हुने वेला आयो । संगठनमा तिम्रो आवश्यकता छ । ऊ एक मिनेट पनि त्यसमा घोत्लिएन, सीधै स्वीकार गर्यो । मैले यो कुरा पार्टी इन्चार्ज रहेका कमरेड दर्शन उर्फ धर्मदत्त देवकोटालाई सुनाएँ । पार्टीले त्यसलाई अनुमोदन ग(यो । त्यस दिनदेखि रवीन्द्रले कहिल्यै पछि फर्केर हेरेन, एउटा पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा ठ्याक्कै ३० वर्ष काम गरेर उसले अन्तिम विश्राम लियो । यो उसको राजनीतिक जीवनमा आएको गम्भीर मोड थियो ।

०००

रवीन्द्रले राजनीतिमा छिटै लय समातेकोे थियो । कमिटी निर्माण, प्रशिक्षण, आन्दोलनको व्यवस्थापन र संगठनका विभिन्न पक्षमा उसको नेतृत्व स्थापित हुँदै गयो । भुर्जुङखोला बलात्कार काण्डका समयमा भएको आन्दोलन उठाउने काममा उसको सक्रियता प्रभावकारी देखिएको थियो । क्याम्पसमा हुने निर्माणका काम, पढ्न चाहनेजति सबैलाई भर्ना लिन बाध्य पार्ने कार्य र त्यसका लागि संरचना थप गर्ने विषयमा क्याम्पससँग मिलेर गरिने काममा रवीन्द्रले नेतृत्व गर्न थालेको थियो । यसले उसको सामाजिक अर्न्तक्रिया गर्ने र आफ्ना तर्क स्थापित गरेर विद्यार्थीका स्वार्थको प्रतिनिधित्व सही ढंगले गर्ने खुबी विकास गर्न सहयोग गरेको थियो ।

स्ववियुको मुखपत्र ‘माछापुच्छ्रे’ प्रकाशनको पनि उसैले जिम्मा लियोे । यही क्रममा उसले पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटी र कास्की जिल्ला कमिटीको नेतृत्व गरेको थियो । पृथ्वीनारायण क्याम्पसको अखिल प्रारम्भिक कमिटीको मुखपत्रका रूपमा एउटा पत्रिका निकाल्ने र पञ्चायतविरोधी आन्दोलनमा अखिलको पंक्तिलाई प्रशिक्षित गर्ने क्रममा ‘प्रजातन्त्र’ नामक मुखपत्र पहिलोपटक प्रकाशित गरिएको थियो, रवीन्द्रको नेतृत्वमा । उसमा संगठन बनाउने र भाषण गर्ने मात्र नभएर सिर्जनात्मक कामका माध्यमबाट अघि बढ्ने हुटहुटी त्यतिवेलैदेखि विकास भएको थियो ।

२०४५ चैतमा भारतले नेपालविरुद्ध नाकाबन्दी घोषणा गर्यो । त्यतिवेला पार्टीले राजा या पञ्चायतको राष्ट्रवादको नारालाई खोक्रो राष्ट्रवाद भन्दै प्रगतिशील राष्ट्रवादको नारा अघि सार्यो र देशव्यापी रूपमा पञ्चायतविरोधी आन्दोलनसँगै भारतीय हस्तक्षेपको विरोध गर्ने कार्यक्रम अघि सार्यो । यो आन्दोलनका क्रममा क्याम्पस अनिश्चितकालका लागि सरकारले नै बन्द गरेको थियो । त्यही क्रममा रवीन्द्रलाई पोखराका दक्षिणी भेगमा पर्ने भरतपोखरी, निर्मलपोखरी, कृस्ती र पुम्दीभुम्दीका विद्यालयमा आधारित रहेर आन्दोलनको नेतृत्व गर्न खटाइएको थियो । पछि म पनि त्यहीँ गएर एक साता बसेको थिएँ ।

परिस्थिति बुझ्न र आफूलाई जोगाउँदै आन्दोलनको अगुवाइ गर्न उसले सिकिसकेको थियो । स्थानीय साथीहरू धनराज आचार्यसहितको सक्रियतामा गाउँमा भएको एउटा आमसभामा भएको प्रहरी हस्तक्षेपबाट जनतालाई जोगाउने र आफूलाई पनि बचाउने काममा उसले सक्रियतापूर्वक भूमिका खेलेको थियो ।

०००

२०४६ सालको आन्दोलन त हाम्रा लागि लामो समयको पर्खाइपछि आएको एउटा महान् अवसरजस्तो थियो । त्यसको तयारीमा रातदिन हामी खटिएका थियौँ । यसरी खटिनेमा रवीन्द्र अग्रपंक्तिमा थियो । पञ्चायती सत्तामा उसको छवि पनि एउटा नेताका रूपमा बनिसकेको रहेछ भन्ने हामी गिरफ्तार भएर हिरासतमा पुगेपछि थाहा भयो । ४ फागुनमा गिरफ्तार भएका हामी ५२ जना विद्यार्थीमध्ये पाँचजनालाई मात्र हत्कडी लगाइएको थियो ।

बाबुराम पन्त, विष्णु शर्मा, भीम सोमै, रवीन्द्र अधिकारी र म । पछि अरूको हत्कडी खोले पनि रवीन्द्र र मलाई एउटै हत्कडीमा एक साताजति बाँधेको थियो । अरू जिल्ला र जिल्लाभित्रका प्रहरीचौकीबाट जिल्ला प्रहरीमा आउनेहरू हामीलाई हेर्न आउँथे । हामी दुवैलाई मुस्ताङ लान खोज्दा पनि फर्काइएको थियो । गिरफ्तार भइसकेपछि भएका घटनामा पनि हामी दुवैलाई मुद्दा चलाइएको थियो । हिरासतमा हामी दुईलाई मात्र खाना पकाउन जान दिइन्नथ्यो ।

विद्यार्थी नेताका रूपमा उसको एउटा मोड भने १ जेठ ०४७ को अनेरास्ववियु स्थापना दिवसका दिन पोखरामा भएको कार्यक्रमबाट आएको हो । कार्यक्रमका लागि मुख्य अतिथि बनेर अखिलका संस्थापक नेतामध्येका एकजना मोहनचन्द्र अधिकारी आउने भएका थिए । अखिलको दसौँ सम्मेलन आयोजक कमिटीको सदस्यका रूपमा मेरो जिम्मेवारी भए पनि यसको सबै व्यवस्थापन र नेतृत्वमा मुख्य भूमिका रवीन्द्रले नै खेलेको थियो, म पूरै ‘साइलेन्स’ थिएँ । दसौँ हजारको सहभागिता रहेको सो कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । यो तत्कालीन माले पक्षले खुला रूपमा गरेको पहिलो ठूलो कार्यक्रम थियो, पोखराका सन्दर्भमा । यसबाटै रवीन्द्र स्वतन्त्र रूपमा विद्यार्थी संगठन र आन्दोलनको नेतृत्व गर्न सक्ने गरी तयार भएको थियो । साथै पार्टीभित्र पनि उसको उपस्थिति महसुस गर्ने अवस्था सिर्जना गरेको थियो ।

२०४७ जेठमा अखिलको दसौँ राष्ट्रिय सम्मेलनसँगै मैले विद्यार्थी राजनीति छाडेँ र पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्न थालेँ । एक छिमल नेतृत्वका साथीले विद्यार्थी राजनीति छाडेसँगै क्याम्पसमा अखिलको नेतृत्व रवीन्द्रको काँधमा आयो । २०४९ मा स्ववियु सभापति भयो र त्यही सेरोफेरोमा अखिलको केन्द्रीय सदस्य बन्यो ।

त्यसपछिको यात्रा त काठमाडौंमा आएर तय भयो । त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सभापति, अखिलको केन्द्रीय अध्यक्ष र त्यसक्रममा खेलेका भूमिकाले उसलाई पोखरा र गण्डकीको नेताबाट सीधा केन्द्रीय रूपमा चर्चामा आउने व्यक्तित्वमा फेरिदियो । एमालेमा चलेको महाकाली प्रकरण र विद्यार्थी नेतामाथि कारबाही, एमालेको विभाजन, ०५६ मा मालेको तर्फबाट कास्की १ मा उम्मेदवारी, पारस प्रकरणलगायत घटनासँगै उसले शान्ति उदय माविबाट थालेको यात्राले एउटा उचाइ लिएको थियो ।

कम्युनिस्टबीच व्यक्तिको भूमिकालाई गौण र समाज, पार्टी या आन्दोलनको भूमिकालाई प्रमुख मान्नुपर्छ भन्ने सैद्धान्तिक मान्यता हुन्छ । तर, ‘उही खेत कुलो बिउ सबै उही, उसैगरी रोपिदिए पनि कहीँ । हुँदैन धान्यादिक चैत्रमा किन, तँलाई मालुम छ कि यो कुरा मन ? भन्ने लेखनाथको प्रश्नजस्तो उही प्रशिक्षण, उही सहभागिता र सक्रियता हुँदा पनि कोही प्रभावशाली नेता बन्छन्, कोही पछि पर्छन् । रवीन्द्रमा रहेको निष्ठा र निरन्तरता, व्यक्तिलाई आन्दोलनको मातहतमा राख्ने त्यागले उसलाई यो ठाउँसम्म पुर्याएको हो । नयाँपत्रिकाबाट

March 6, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *