जनता टाइम्स

१ जेष्ठ २०७८, शनिबार १६:५७

एमाले नेता कँडेलले सार्वजनिक गरे कर्णाली प्रदेश सरकारको निकम्मापन


सुर्खेत, जेठ १ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा कोरोनाको भयाभह स्थिति आउनुमा प्रदेश सरकार नै जिम्मेवार रहेको तथ्य खोल्नुभएको छ । एमाले नेता कँडेलले आज विज्ञप्ति जारी गरी प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेको तथ्य सार्वजनिक गर्नुभएको हो ।

प्रदेश सरकारले कोरोना रोकथामका लागि आफ्नो स्रोत पनि परिचालन गर्न नसकेको र संघीय सरकारसँग समन्वय पनि गर्न नसकेको कँडेलले बताउनु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट हुँदाहुँदै पनि अक्सिजनको अभावमा बिरामी भर्ना लिन नसक्ने अवस्था आउनु दुःखद भएको भन्दै उहाँले यी सवैको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने बताउनु भएको छ ।

‘सुविधा सम्पन्न प्रदेश अस्पतालको अवस्था त यस्तो छ भने कर्णालीका अन्य जिल्लाको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ,’ कँडेलले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘कोभिड–९ को महामारी नियन्त्रण र रोकथामका लागि चाहिने अत्यावश्यक सामग्रीको अभावले आमनागरिकले व्यहोर्नु परेको कष्टकर दैनिकी र मानवीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै कंडेलले विज्ञप्तिमा भन्नुभएको छ, ‘यस विषयमा गम्भिरतापूर्वक संघीय तथा प्रदेश सरकारको ध्यानआकर्षण गराउँछौँ ।’ कर्णालीमा माओवादी नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार रहेको छ ।