जनता टाइम्स

५ असार २०७८, शनिबार १४:४७

त्यो गल्ती गर्दा आफ्नै टीमले गरेन माधवको बिश्वास


काठमाडौं, असार ५ । आफ्नै समुहका प्रभावशाली नेताहरु पार्टी बिभाजनको बिपक्षमा उभिएपछि नयाँ पार्टी बनाउने अभियान थाल्नुभएका एमाले नेता माधवकुमार नेपाल दुविधामा पर्नुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेबाट अलग हुन दवाव दिइरहे पनि नेता नेपाल आफ्नो समुहका अधिकांश नेताले साथ नदिने संकेत पाई तत्कालै बिभाजन गर्ने योजनाबाट पछि हटन बाध्य हुनुभएको हो ।

नेपाल निकट एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार आफ्ना लागि समय क्रमशः प्रतिकूल हुँदै गइरहेको भन्दै नेपालले प्रचण्ड र देउवालाई तत्काल एमाले बिभाजन गर्ने हैसियतमा आफू नरहेको जनाउ दिनुभएको छ । यद्यपी बिपक्षी गठबन्धनमा भने उहाँको सक्रियतामा कुनै कमी आएको छैन । एमालेमा रहनै नसक्ने निश्कर्ष सुनाएर संसदीय मर्यादा र आफैले कायम गरेको गर्विलो इतिहासबिरुद्ध गएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर गरी आफूनिकट नेताको समेत पहिलाको हस्ताक्षर बुझाउनु भएको नेता नेपालमाथि सो समुहका अधिकांश प्रभावशाली नेताले दवाव बढाउँदै लग्नुभएको छ ।

पछिल्लो समय बरिष्ठ नेता झलनाथ खनालले समेत बक्तब्यमार्फत पार्टी एकतामा जोड दिनुभएको छ भने दोस्रो पुस्ताका नेताहरुले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने र माओवादीबाट एमाले रोजेका नेताहरुलाई पहिलो बैठकबाटै जिम्मेवारी तोक्ने बिषयमा लगभग सहमति जनाएपछि नेपालको योजना बिफल बन्दै जान थालेको हो । नेपालले केही समयअघि आफूपक्षधर स्थायी र केन्द्रीय कमिटी बैठकमा स्पष्टरुपमा नयाँ पार्टी बनाउने उदघोष गर्नुभएको थियोे । तर नेपाललाई आफ्नै समूहका नेताहरुले असहयोग गर्न थालेपछि केही पछि हटनुभएको हो । वरिष्ठ नेता खनालले उपचारका लागि नयाँ दिल्ली जानुअघि जारी गर्नुभएको बक्तव्यदेखि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भएको पछिल्लो एकताले जसरी पनि पार्टी फुटाइ हाल्ने नेपालको योजना असफल हुँदै गएको उहाँ निकट नेताहरुकै बुझाइ छ ।

नेपाल समूहमा रहनुभएका बरिष्ठ नेता खनालले पनि पछिल्लो समय एकता पक्षधरकै पक्षमा आफूलाई उभ्याउनु भएको छ । यस्तै सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य पनि स्पष्ट रुपमा एमाले बिभाजन गर्न नहुने पक्षमा उभिएर संस्थापनसँग निरन्तरको संवादमा रहनुभएको छ । यस्तै केन्द्रीय कमिटी, प्रदेश तहका नेताहरु पनि एकताको पक्षमा उभिनुभएको छ ।

पार्टी अन्तर्संघर्षमा साथ दिए पनि नेपाल समूहका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले अलग पार्टी निर्माणमा सहयोग गर्न नसकिने सार्वजनिक घोषणा नै गर्नुभएको छ । नेता भट्टराईले एक टेलिभिजन अन्तवार्तामै नेता नेपालले बदलीएको परिस्थितिमा पनि देउवाको निवास वुढानिलकण्ठ तर्फको मोह छाड्न नसके आफूलगायत धेरै नेता कार्यकर्ताले उहाँको साथ छाड्ने घोषणा गर्नुभएको छ भने नेता आचार्यले ४०/५० बर्ष लगाएर बनाएको एमालेरुपी सुन्दर घर भत्काउने वा छाडेर नयाँ घर बनाउन जाने मुर्खता कसैले नगर्ने भन्दै आफ्नो कित्ता क्लियर गर्नुभएको छ । उहाँको निश्कर्षमा एमाले छाडेर नयाँ पार्टी गठन गर्ने काम पलायनवादी योजना हो ।

नेपाल निकट रहेकै नेताहरुको शब्दमा भन्दा प्रचण्डको सल्लाहमा चल्ने, फरक पार्टी बनाउने र माओवादीसँग बिलय गराउने तीन कुरा गरेपछि माधव नेपाल आफ्नै समुहभित्र निकै कमजोर बन्नुभएको हो । एमाले अध्यक्षसँग कुराकानी गर्नसमेत तयार नहुने तर अध्यक्ष लचक भएर एकतापूर्वको अवस्थामा पार्टी फर्काउन तयार हुँदा तत्कालै प्रचण्डसँग सल्लाह लिने पुगेको घटना र सर्वाेच्च अदालतमा आफूहरुको समेत हस्ताक्षर बुझाएको घटनाले माधव निकै कमजोर बन्नुभएको हो

नेपाल समुहका दोस्रो पुस्ताका अधिकांश नेताको अडान माओवादीसँग एकता हुनुपूर्व २०७५ जेठ २ को अवस्थाबाट अघि बढ्नुपर्ने रहेको छ । त्यसो त कार्यदलमा नेताहरुबीच २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटिसकेको छ । पछिल्लो समय एमाले अध्यक्ष ओलीबिरुद्ध अभियान नै थाल्नुभएकी नेतृ अष्टलक्ष्मी शाक्यसमेत एकताको पक्षमा उभिनुभएको छ । ‘अब जेठ २ मा फर्किनै पर्छ । अदालतको कुरा पनि त्यस्तै आयो । केपी कमरेडको जेठ ३ अघि फर्किने भन्ने कुरा पनि छ । तर अदालतले एक खालको वातावरण हामीलाई बनाइदियो । अब जेठ २ मा फर्किदा कोही झुक्नुपर्ने भन्ने नै रहेन । कोही झुक्यो, कोही तल पर्यो, कोही माथि पर्यो भन्ने कुरा अब आउँदैन, किनकी यो अदालतको कुरा भयो । यो हाम्रो लागि एमाले मिलाउने मौका पनि हो,’ शाक्यले मिडियामार्फत नै भन्नुभएको छ ।

कार्यदल बैठकमा सहभागी हुँदै आउनुभएका नेपाल पक्षीय अर्का नेता भीम आचार्यले पनि २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको जानकारी दिनुभएको छ । नेपाल समुहमा पछिल्लो समयमा भीम रावल, डा. बिजय पौडेल, जगनाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री मात्रै फरक पार्टीको अभ्याश र अभियानमा देखिनुभएको छ । ‘फरक पार्टी बनाउने उहाँहरुको दवाव माधवमाथि छ तर सवैको हैसियत माधव कमरेडलाई थाह नभएको होइन,’ माधव समुहकै एक स्थायी कमिटी सदस्यले जनताटाइम्ससँग भने । ती नेताका अनुसार कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको दावी गर्दै पेश गरेको दस्तावेजमा किर्ते हस्ताक्षर र टिपेक्स लगाएर नाक काटकुट पारिएको फेला परेपछि नेपाल समुहभित्र थप आक्रोश पैदा भएको छ ।

नेपाल निकट रहेकै नेताहरुको शब्दमा भन्दा प्रचण्डको सल्लाहमा चल्ने, फरक पार्टी बनाउने र माओवादीसँग बिलय गराउने तीन कुरा गरेपछि माधव नेपाल आफ्नै समुहभित्र निकै कमजोर बन्नुभएको हो । एमाले अध्यक्षसँग कुराकानी गर्नसमेत तयार नहुने तर अध्यक्ष लचक भएर एकतापूर्वको अवस्थामा पार्टी फर्काउन तयार हुँदा तत्कालै प्रचण्डसँग सल्लाह लिने पुगेको घटना र सर्वाेच्च अदालतमा आफूहरुको समेत हस्ताक्षर बुझाएको घटनाले माधव निकै कमजोर बन्नुभएको हो ।