१० असार २०७८, बिहीबार ००:००

माधव नेपालका १९ सवाल : जसलाई देख्ने सुन्ने सबै लज्जित


फागुन ११ को सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना र २३ गतेको फैसलाले नेकपा (एमाले) पुनः कायम गरेपछि नेपाली राजनीतिका फाँटहरुमा धेरै उथलपुथल भएको विषय जगजाहेर नै छ । पुनःस्थापित प्रतिनिधिसभाले काम गर्न नसकी संसद पुनः बिघटन हुन पुगेपछि नेपाली राजनीति झनै बिचित्रको मोडमा पुगेको छ । दलहरु जनतामा जान छाडेर अदालततिर जाने र अदालतले निर्णय दिने बिचित्रको अवस्था अहिले देखिएको छ । यस प्रकरणले नेपाली राजनीतिमा र नेपाली जनतामा के कति नोक्सान पुग्यो त्यसको लेखाजोखा निकट भविष्यमा लेखिने इतिहासले गर्ला ।

दुई चार जना मानिस वा नेताको महत्वाकांक्षा, अदूरदर्शिताका कारणले धेरै नेपाली जनताका श्रम– पसिना र शहीदहरूको बलीदानीबाट बनेको राजनीतिको पिरामिड ढलेको छ । यस पिरामिड ढाल्न गल लगाउने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नै उठ्नै नसक्ने गरी थिचेको छ । योग्यता, क्षमता, दूरदर्शिता, हार्दिकतापूर्ण त्याग, प्रष्ट दृष्टिकोण र सहनशीलता नभएका, विभिन्न काकताली र तिकडमबाट उक्सिएकाहरूको सक्कली अनुहार कसरी प्रष्ट हुन्छ भन्ने कुरा पनि यस घटनाले देखाएको छ । दिँदा नखाने राति कोल चाट्ने आरोप लागेका माधव नेपालले यी प्रश्नको उत्तर दिन सक्नुहोला ?

१. टुँडिखेलमा सर्वप्रथम जनेता मदन भण्डारीले सम्बोधन गर्ने क्रममा आफ्नो पालामा माधवकुमार नेपाल बोल्दा युवा श्रोताहरूले भयो भयो ! नजान्नेले किन बोल्नु ! समय नले, मदनकुमार भण्डारीलाई समय चाहिन्छ भनेर गरेको बेइज्यत अहिले बाहिर आउने थिएन कि ?

२. मदन भण्डारीको रहस्यमय अवसानपछि सीपी मैनाली, केपी ओली, आरके मैनालीबीचको अनमेलका कारणले संयोगवस महासचिव हुनुभएका पात्र हो माधव नेपाल । योग्यता, क्षमता भएर होइन भन्ने यथार्थ उजागर हुने थिएन कि ?

३। महासचिव भएपछि त्यतिबेलादेखि हालसम्म मदन भण्डारीको उत्तराधिकारी अभिव्यक्तिको खल्लोपन हुने, वाकपटुता नभएको महासचिव भन्ने यथार्थ पनि दोहोरिने थिएन कि ?

४. अलिअलि समन्वयवादी, मध्यस्थतावादी स्वभाव भएको नेता हुनुहुन्छ माधव नेपाल । कुनै दृष्टिकोण भएको, विचार भएको मानिस हुँदै होइन भन्ने सत्यता लुकेरै बस्थ्यो कि ?

५. भाषण गर्दा सम्बोधन, आदि, मध्य र अन्त्यको ज्ञानसम्म नभएको भद्दापन भएको भन्ने चर्चा पुनरावृति हुने थिएन कि ?

६. हेटौंडामा अबको प्रधानमन्त्री कांग्रेस नेता रामचन्द्र पौडेल भनेर बहकिएको र तत्काल झलनाथ खनालको समर्थन गर्ने बोलीको ठेगान नभएको भन्ने यथार्थ बाहिरिने थिएन कि ?

७. दुई दुई ठाँउबाट पराजित भएर पनि नैतिकता बेचेर प्रधानमन्त्री भएका नेपाललाई नैतिकता र सिस्टम बेचुवा भनेर भनिरहने पो थिएनन् कि ?

८. नेपाली कम्युनिस्ट आन्दोलनका शिखर–आदर्श पुरुष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला उपप्रधानमन्त्री हुँदा म ठूलो पार्टीबाट आएको भन्ने घमण्ड र बालहठले मनमोहन अधिकारीलाई सताउनु सताएको कुरा दोहोरिने थिएन कि ?

९. ‘आफ्नो गाउँ आफैँ बनाउ’ र नौ ‘स’ को कार्यक्रमको भित्रभित्र कैँची चलाउने र बाहिर यसको ‘प्रणेता मै हुँ’ भन्ने गरेको आडम्बरी प्रवृति पनि उजागर हुने थिएन कि ?

१०.आफू प्रधानमन्त्री हुँदा प्रमुख जिल्ला अधिकारीलाई अनाहकमा कुट्ने मन्त्रीलाई चुइक्क केही भन्न र गर्न नसक्ने, सत्ता टिकाउ धन्दामामात्र लाग्ने लाचार छायाँ भएको व्यहोरा छर्लङ्गिने थिएन कि ?

११. आफ्नै गृह जिल्ला रौतहटमा २०/२२ जना मानिसलाई यो एक्काइसौं शताब्दीमा जिउदै इँट्टाभट्टामा हाल्ने, सुन्दा पनि जोकोहीको आङ सिरिङ्ग हुने आपराधिक घटनाका दोषीलाई कारबाही नगर्नेमात्र होइन उल्टै आफ्नो मन्त्री बनाउनेसम्मको हर्कत गरेको सत्य घटना पनि प्रकाशमा आउने थिएन कि ?

१२. माओत्सेतुङ जनताका बीचमा भन्ने, सचित्र चीन, भन्ने पत्रिका देखेका उनले प्रधानमन्त्री भएका बेला साधारण पब्लिक बसमा सवार भई काठमाडौं यात्रा गरेको लाजमर्दो वचकनापन बाहिर आउने थिएन कि ?

१३. महान् व्यक्तित्वहरूका अमर वाणीहरू सङ्कलन गरेको वा महान कम्युनिस्ट नेता माओत्सेतुङका सङ्कलित रचना देखेका उनले आफ्ना पुङ् न पुच्छरका भाषण सरकारी खर्चमा प्रकाशन गरेको कुत्सित कुरा कोट्टिने थिएन कि ?

१४. आफू प्रधानमन्त्री हुँदा भूमि सम्बन्धी फाइल भूमिसुधार मन्त्रालयबाट नआएपछि भौतिक योजना मन्त्रालयबाट झिकाई ललिता निवास–जग्गा बिक्रीवितरण सम्बन्धि फाइल स्वीकृत गरेको अपराधपूर्ण घटना गुपचुप नै रहन्थ्यो कि ?

१५. ज्ञानेन्द्र शाह राजा हुँदा धनुष्टङ्कार भएर दाम चढाएको र उनै राजाका पालामा प्रधानमन्त्री खान पाउँ भनी पाउमा निवेदन चढाएको कायरतापूर्ण लम्पसार परेको लाजमर्दो कुरा गुपचुप नै रहन्थ्यो कि ?

१६. केपी ओली बिरामी भएको अवस्थामा नवौं महाधिवेशनका बेला इटहरीमा भाषण गर्दा मृत्युशैयामा पुगेको मानिसले पार्टीको नेतृत्व गर्न सक्छ ? भन्दै असंवेदनशील , मानवताहीन, तुच्छ अभिव्यक्ति पनि कसले कोट्याइरहन्थ्यो र ?

१७. जनसाँस्कृतिक वा प्रगतिशील संस्कृतिको बिल्कुल जानकारी नभएका नेपालले आफ्ना बुवाको मृत्युपछि काजकिरिया नगरेर, कपाल नकाटेर अतिवाद देखाउनुभएका नेपालको विभिन्न ठाउँमा घोप्टो पर्ने वा लम्पसार परी पूजा गरेर म धार्मिक हुँ भन्ने आडम्बर पनि देखिएको छ । त्यसैले नेपाल नेता हुने योग्यता नपुगी नेतृत्वमा पुगेका मान्छे भन्ने कुरा पनि किन कोट्याइरहनु पथ्र्यो र ?

१८. ‘म नेता हूँ नेता ! मैले मोरङमा एक्लै सङ्गठन गरेको हूँ’ भनेको लाजमर्दो हुङ्कारलाई नकोट्याउँदा पनि हुने । तर जुन जिल्लामा मनमोहन अधिकारी, भरतमोहन अधिकारी, डी पी अधिकार, मोहनचन्द्र अधिकारी, राधाप्रसाद घिमिरे, मदन भण्डारी आदि जस्ताले नेपालमै ऐतिहासिक सङ्गठन गर्नुभयो । त्यो इतिहासलाई निर्लज्ज इन्कार्ने । कस्तो संगठक हो माधव नेपाल भनेर भन्नुपर्ने थिएन कि ?

१९. आफ्नो पद प्राप्तीका लागि जे सुकै हर्कत गर्न माधव नेपाल तयार भएको र २०५४ सालमा माधवकै कारण एमाले बिभाजित भएको हो भन्ने तथ्य पनि लुकेरै बस्ने थियो कि ?