जनता टाइम्स

२३ असार २०७८, बुधबार १९:४५

कर्णालीलाई हेर्ने दृष्टिकोण बदलौं


काठमाडौं, असार २३

पूर्व मन्त्री प्रेमबहादुर सिंहले कर्णालीलाई समस्याको रूपमा हेरेर त्यहाँको समस्या समाधान नहुने विचार व्यक्त गर्नुभएको छ । राष्ट्रिय समावेशी आयोगले ‘समावेशी र कर्णाली क्षेत्रको विकास सम्वन्धी’ आयोजित कार्यक्रममा उहाँले कर्णालीलाई सम्भावनाको आँखाले हेर्न, सकारात्मक विभेदको नीति कार्यान्वयन गर्न र कर्णालीबासीले अनुभूत गर्ने विकासमा जोड दिन आग्रह गर्नुभयो । उहाँले कर्णालीको विकास परिवर्तन टाढा नभएको पनि बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेंलले देशको कुल क्षेत्रफलमध्ये २२ प्रतिसत ओगटेको कर्णाली प्रदेश भौतिक पूर्वाधार, सामाजिक समृद्धि र त्यहाँको नागरिकको जीवनशैलीको उत्थान नभई नेपालको समृद्धिको सपना पुरा नहुने विचार व्यक्त गर्नुभयो । उहाँले विविध क्षेत्रको विकासका रणनीति बनाउने राष्ट्रिय समावेशी आयोगसँग राष्ट्रिय योजना आयोगले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले आयोगको क्षेत्राधिकारभित्रका जिम्मेवारीलाई कार्यान्वयन गर्न एक वर्षे कार्यक्रम र पाँच वर्षे रणनीतिक योजना बनाइरहेको भन्दै कर्णालीको समग्र विकासका लागि कर्णालीविज्ञ, त्यहाँका स्थानिय र त्यस क्षेत्रको बारेमा जानकारी राख्ने व्यक्तित्वहरूबाट राय, सुझाव सङ्कलन गर्न छलफल भइरहेको बताउनुभयो ।

त्यसैगरी आयोगका सचिव भुवनहरि अर्यालले सम्बन्धित समुदाय, उक्त क्षेत्रका बुद्धिजिवीहरूबाट प्राप्त सुझावलाई कार्यक्रम र रणनीतिमा समावेश गरिने बताउनुभयो । आयोगका सदस्य विष्णुमाया ओझाले कर्णाली पुग्दा प्रकृतिले त्यस क्षेत्रलाई अथाह सम्पदाले सिङ्गारेको तर त्यसलाई पैसा र अवसरका रूपमा परिणत गर्न नसकेको आफ्नो अनुभव सुनाउनुभयो । उहाँले त्यहाँको नागरिकको जीवनस्तर उकास्ने, दिगो विकासका लागि आयोगले कार्यक्रम र नीति बनाइरहेको जानकारी दिंदै त्यसको कार्यान्वयनको लागि सबैको सहकार्य र समन्वयको खाँचो औल्याउनुभयो ।

आयोगका प्रवक्ता एवं उपसचिव पुष्कर भट्टराईले आयोगले हाल ड्राफ्ट भइरहेको कार्यक्रम तथा रणनीतिका लागि सम्वन्धीत क्षेत्र, जातजाति र वर्गको बारेमा विज्ञहरूबाट सुझाव सङ्कलन गर्न छुट्टाछुटटै कार्यक्रमहरूको आयोजना भइरहेको जानकारी दिनुभयो । कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका पूर्व अध्यक्ष शिवराज शर्माले कर्णालीको विकासका लागि पर्यटन महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

कर्णाली करिडोरलगायत अन्य बाटोको विकास गर्न सके मानसरोवर जाने करोडौं भारतीय पर्यटकसहित आन्तरिक तथा बाह्य पर्यटकको खाने, बस्ने व्यवस्थापनको माध्यमबाट कर्णालीको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले राज्य र विकास साझेदार संस्थाहरूले कर्णालीलाई अनुदानमा चामल दिंदा त्यहाँका नागरिक परनिर्भर भएको पनि बताउनुभयो ।
अबको विकास कर्णालीलाई आत्मनिर्भर बनाउर्नेतर्फ लक्ष्यित हुनुपर्ने शर्माको भनाई छ ।