जनता टाइम्स

६ श्रावण २०७८, बुधबार १६:३१

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


मान्म, साउन ६

मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताउनुभयो । ‘अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ’, उहाँले भन्नुभयो,‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।’

पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । ‘पहिरो पन्छाउने काम भइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।’

त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएकोे छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताउनुभयो । ‘उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ’, उहाँले भन्नुभयो ।