जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १९:५३

फुटबलका मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामासंगै खूल्यो कांग्रेसका नेता नेम्वाङको चरम बदमासीको पोल


काठमाडौं, साउन ११

नेपाली कांग्रेस खेलकुद विभागका सदस्य एवं नेपाल फुटबल एसोसिएसन (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजिनामा घोषणा गर्नुभएको छ । हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत राजिनामा घोषणा गर्नुभएका अलमुतारीले राजीनामाको प्रमुख कारण नेम्वाङ भएको उल्लेख गर्नुभएको थियो ।

अलमुताइरीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रिय नेपाली समर्थकहरू म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाईँ खुसी हुनु भयो होला नि पंकज विक्रम नेम्वाङ ?’ भन्दै नेम्वाङलाई मेन्सन समेत गर्नुभएको छ ।

राजीनामा घोषणा गर्नुभएको फेसबुकमा नेम्वाङलाई मेन्सन गरेपछि नेम्वाङको प्रोफाइलमा गएर नेपाली समर्थकहरुले विरोध जनाइरहेका छन् भने उनिहरुले फुटवलमा राजनीति घुसाएको भन्दै तिव्र आलोचना गरिरहेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ वि.सं. २०७५ बैशाख १२ गते भएको एन्फाको साधारणसभाबाट कर्म छिरिङको प्यानलबाट निर्वाचित हुनुभएको थियो । सोही प्यानलबाट उपाध्यक्ष पदमा विजयी हुनुभएको उहाँ २०७६ बैशाख ३१ गते एन्फाको वरिष्ठ उपाध्यक्षमा चुनिनुभएको थियो ।

यता नेपाली कांग्रेस निकट नेम्वाङले बेला–बेला विभिन्न विषयहरु निकालेर एन्फालाई विवादित बनाउने, आफुले भनेअनुसार कुनै कामकारबाही नभए विरोध गरेर सधैं एन्फाभित्र द्वन्द सिर्जना गर्दै आएको एन्फाका अन्य सदस्यहरु बताउँछन् । उसो त उपाध्यक्ष नेम्वाङलाई यसअघि एन्फाभित्र परिवारबादको आरोप लागेको तथ्य फेला परेको थियो ।

यु–१६ टोलीमा योग्य खेलाडीहरुलाई बाहिर राखेर आफ्नो छोरालाई जर्वजस्ती टोलीमा घुसाएको विषयले नेम्वाङ तीव्र आलोचनामा परिसकेका थिए । २०७६ को असोजमा जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनौट खेल्न जोर्डन गएका नेपाली यु–१६ टोलीको रोजाइका गोलकिपर रोशन नेपालीलाई टोली बाहिर राख्दै नेम्वाङका छोरा पथ्युहाङ नेम्वाङलाई जोर्डन पठाएका थिए ।