जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार १९:२८

सिभिल सहकारीमा ८ अर्ब घोटाला, पूर्वसभासद इच्छाराज तामाङमाथि अनुसन्धान सुरु


काठमाडौं, साउन १९ । सिभिल सहकारीमा ८ अर्ब घोटाला भएको तथ्य सार्वजनिक भएको छ । सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङ सिभिल सहकारीको आठ अर्ब १३ करोड घोटालामा मुछिएपछि सो कुराको पर्दाफाँस भएको हो । काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेको बेला तामाङले निक्षेपकर्ताको रकम आफ्नै रियलस्टेट कम्पनी ‘सिभिल होम्स’ मा लगानी गरेको खुल्न आएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धानलाई तिब्रता दिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा सिभिल ग्रुप अन्तर्गतको एक कम्पनी मालिक र अर्को कम्पनी ऋणी बनेर निक्षेपकर्ताको अर्बौं रकम घोटाला गरेको भेटिएको हो ।

सिभिल ग्रुपका संस्थापक रहेका तामाङले सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारण निक्षेपकर्ताले जम्मा गरेको साढे सात अर्ब भन्दा बढी रकम अपचलन गरेको भेटिएपछि केन्द्रिय अनुसन्धान ब्यूरोले गम्भीरताका साथ अनुसन्धान शुरु गरेको ब्यूरोका एक उच्च अधिकारीले बताउनुभयो । उहाँका सहकारीले सिभिल समुहकै संस्थापकका परियोजनामा कुल कर्जाको ८६ प्रतिशतभन्दा बढी लगानी गरेको भेटिएको छ । आर्थिक वर्ष २०७४र७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसाय (सिभिल होम्स) मा सबै रकम लगानी गरिएको छ ।

आफैं सञ्चालक भएको सहकारीको निक्षेप रकम निजी कम्पनीमा लगाएर आर्थिक अपराध गरेको भेटिएपछि ब्यूरोले अनुसन्धान शुरु गरेको बुझिएको छ । तर सहकारी ऐन २०७४ मा कुनै पनि सहकारीले कुल पुँजीकोषको १० प्रतिशतभन्दा बढी कर्जा एकै व्यक्तिलाई दिन नमिल्ने प्रावधान छ । सिभिल सहकारीमा २ हजार ६ सय ९० बचतकर्ता छन् । सहकारीले निक्षेपकर्ताबाट सात अर्ब ५१ करोड निक्षेप संकलन गरेको छ । तर कर्जा भने आठ अर्ब १३ करोड ६७ लाख प्रवाह गरेको भेटिएको छ । आर्थिक वर्ष २०७४र७५ को लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि लगायतका आफ्नै ग्रुपका कम्पनीमा ७ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको खुल्न आएको हो ।

सिभिल ग्रुपका अध्यक्ष तामाङले आफू सहकारी संस्थाको अध्यक्ष भएकै बेला रियल स्टेटमा कर्जा दुरुपयोग गरेको भेटिएपछि उहाँलाई पक्राउ गर्ने तयारी थालिएको छ । पछिल्लो समय ललितपुर प्रहरीले मुद्दा चलाएको गुडविल कोअपरेटिभको सम्पत्ति गैरकानुनी तरिकाले लिलाम गरिएको भन्दै सहकारी पीडितहरुले नेपाल राष्ट्र बैंक र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) लाई गुहारेका थिए । ललितपुर प्रहरीले ठगी मुद्दा चलाएपछि गुडविलका अध्यक्ष दिवाकर श्रेष्ठ मुद्दा पुर्पक्षको लागि नख्खु कारागारमा छन् भने उहाँकी श्रीमती जेनी श्रेष्ठ फरार सुचिमा रहनुभएको छ ।