आखिर नेपाली जनता यो भयानक अमानवीयताको सिकार कस्तो तन्त्र आउँदासम्म भइरहने ? के यसको सापेक्षित उत्तर सिंहदरबारले दिनसक्ला ? राष्ट्रियताका सबालमा पनि यिनै नाजुक शब्दहरूले ज–जस्ले बोले तिनैलाई बोध गरेर म यो सिर्जना जन्माउन कटिबद्ध भएँ । मलाई लाग्दैन मेरो कलम अनियन्त्रित मोडतर्फ गयो । साँच्चै नै अब पनि सन्तबहादुर नजाग्ने हो भने सिंहदरबार तानसाहकै रखेल हुन सक्छ । यसतर्फ सचेत जनता सचेत हुन जरुरी छ
वियोग सापकोटा
मैले सानैदेखि रेडियो सुन्दै आएँ । सुन्दा—सुन्दै ममा सिर्जनशीलताको प्रादुर्भाव भइदियो । रेडियोका प्रस्तुतिहरू सुन्दा—सुन्दै निरक्षर ममा सिर्जनशील अभिव्यक्तिको भार पैदा भइदियो । रेडियो नेपाल मबाट १२ वर्ष अलग रहेन । त्यसैको अटुट मित्रता स्वरूप ममा साहित्यिक प्रतिभाको विकास हुन गयो, जसको परिणाम म जेनतेन भोगिरहेछु । रेडियो नेपालका एकाङ्की कार्यक्रमहरू सुनेर नै म साहित्यकारितामा थोरै शब्दहरू पोख्न सक्ने भएँ ।
शारीरिक सक्षमता नभइदिएकाले ममा सफल लेखनको आरोहण भइरहेको छैन । अपरिहार्य माहोलले साथ नदिँदाका पीडाहरू केवल पिडै भएर बगिरहन्छन । ती बगाइले शब्दहरू खोज्दा पनि पाउँदैनन र बग्दा बग्दै लाचारिताको चिसो हावाले सुकिदिन्छन । ममा सिर्जनार्थ पर्याप्त समय हुँदाहुँदै पनि सदुपयोगिताका घेरामा आइ दिँदैनन । यो दुष्परिणामको कारक भइदिन्छ असफलता । पारिवारिक र सामाजिकलगायतका दुराग्रहरूपी अवरोधले मलाई सक्रियता हाँक्न दिइरहेको हुँदैन । सम्भावनाको श्रृंखला नजिकै देखिँदा—देखिँदै पनि आरोही बन्न नसक्नु मेरा अपुष्ट शब्दहरूको दुर्भाग्य हो । यसैमा मेरो साहित्यकारिता गिडगिडाएको छ । मैले साहित्यकारिता हाँकेको करिब ३० वर्षभन्दा बढी भयो । हालसम्म कुनै पनि चर्चित साहित्यक कृति पढेको छुइनँ । यसलाई कस्तो विचारको सिकार मान्ने ? पढ्ने चाहना नभएर हैन । किताबहरू पनि उपलब्ध नहुने होइनन । किन नपढेको त भन्दा लेखनलाई पर्याप्त मात्रामा अघि बढाउन नसकेकाले ।
३० वर्षका हाराहारीमा कम्तीका पनि १५ बटा किताब बाहिर आइसक्नु पर्ने हो । किन आएनन त ? फुरेका शब्दहरू लिपिबद्ध गर्न नसकेर । अस्पष्ट आवाजभन्दा बाहेक अन्य शारीरिक माध्यमले अक्षर उत्पादन गर्न नसक्ने प्रतिकूलता हाबी भएर ममा ठिँगुरिएको साहित्य जिङ्ग्रियो मात्र, फस्टाउन सकेन । यसलाई नाङ्गो विडम्बनाको कठघरामा मात्रै कति उभ्याइरने ? मैले मेरा आन्तिरक समस्या कतिपय अवस्थामा छताछुल्ल पारिसकेको छु । जति नै पोखिए पनि हात लाग्यो शून्य नै अगाडि आइदिन्छ । कोखका सपनाहरूपनि प्रतिभामैत्री भइदिन्नन, जसले गर्दा मेरा प्रतिभा खोस्टामा नै सीमित रहनुको विकल्प नरहने सम्भावना नर्कान नसकिने सत्य हाजिर छ । गीत–सङ्गीतभन्दा प्यारो मेरा लागि अरू केही छैन । यो प्रिय वस्तु अहिले मदेखि टाढा छ । यसले ममा कस्तो आभास सिर्जना गरेको होला ? कतिपय लेखकहरूले एउटा रचना तयार पार्न कम्तीमा १ वर्ष लगाँउछन । म धेरै भनेको तीन दिनमा तयार पार्छु । बन्द कोठामा सुतेर तनावको तेजाबमा डुवेर साहित्यकारिताको बिम्बलाई बचाउनु कम चुनौतीपूर्ण खेल होइन । शब्दहरू तयार पार्दा अथवा बोल्दा जिब्रो टोकिएर रगतको भल बग्दछ, त्यसैले नै मेरो साहित्यकारिता जीवित रहेको हो कि भन्नुमा अतिशयोक्ति नहोला ।
मेरो साहित्यकारिता साँच्चै नै अगाडि बढाउने हो भने एउटा सहयोगीको निरन्तर खाँचो पर्दछ । उसले मलाई २-३ घण्टा लेखिदियोस । मसँग गफ गरिदियोस । यतिसम्म हुन सके प्रतिभा धेरै अगाडि बढ्न सक्छ । खुम्चिएर तड्पिएर हुने केही छैन ।सामान्य सिर्जनाका लागि मूलभूत साधन स्रोतको अभाव छ । यसको परिपूर्तिका लागि तपाईंहरूले चासो राख्नु नै हुनेछ । स्रष्टा समष्टिमा नयाँ युगको स्थापना गर्ने विनिर्मित साधनसम्म हो । उसको चेतनाले भ्याएसम्म ऊ सर्वदा नै नवीनतम खजानाको खोजीमै हुन्छ । नवपरिवेशको जन्म गराउन सकिएन भने सिर्जनशील हुनुको नाक रहँदैन । यस मानेमा मसँग भएको औकातले भ्याएसम्म आगन्तुक विषय नै खोज्ने गर्दछु । बन्द कोठामा बाँच्नुपर्ने परिस्थितिका कारण मेरा सिर्जनशीलताहरूमा सङ्कोचको मात्रा बढी देखिन्छ । यो नैसर्गिक विडम्बना रहँदा रहँदै पनि बौद्धिक बुताले भ्याँउदा म यो खल्लोपना आउन दिन्नँँ । यसअर्थ ममा आश्रित बन्दा खोजीकारिता मै म मेरा शब्दहरूसँग मडारिरहेको हुन्छु ।
म मेरी हजुरआमाको पोल्टामा खेल्न नपाएको भए यो जीर्ण अजम्बरिता प्राप्त गर्न सक्ने थिइनँ । म जे नरहनु थियो त्यसैमा खतपतिएर बाँच्न विवश भएँ । गर्भैमा कुपोषणले आक्रमण छेडेको ममा बाल्यकालले प्रस्फुटनको उन्मुक्तीकरण पाउन सकेन । गुडुल्कीएर सुत्नुभन्दा परको बालक्रिडा मैले खेलाउन सकिनँ । म बाँच्दै गरेको छाप्राको सिकुवा बलेसीहरूले मेरो बालजन्य क्रियाकलापको अनुपम खेलबाड देख्न पाएनन । ममा शारीरिक अपाङ्गताको बोझिलो समस्याले झट्का दिइरहेथ्यो । यति हुँदाहुँदै पनि आइसकेपछि जस्तोसुकै अपमानीयता खपेर जिउनु पर्दाको अभिशप्तता त्याग्न नसकिँदो रहेछ । कोखैले दिएको पक्षपातपूर्ण मानवीयतालाई दुर्भाग्यले पोलेको खप्परबाट उछिट्याउन नसकिँदो रहेछ ।
पूर्ण अशक्तताको धारमा परिसकेपछि बाँचिरहनुको औचित्यले मृत्युवरणकै उद्घाटन गर्न खोजिरहँदो रहेछ । यो बेकम्मापूर्ण अवस्थितिको अन्त्य चाहँदा चाहँदै पनि नपाउनुको अनिकालले घेरिँदा घेरिँदै पराजयको पोलिला काउसाहरूले पोलिरहँदा रहेछन् । पारिवारिक पृष्ठभूमिमा खलपात्र नै साबित भइरहनुपर्ने रहेछ, अभिभावकका सुनका नङ्ग्राहरूले ठाडै चिर्थोदा रहेछन् । घरका चौकट, भित्ता, झ्याल र ढोकाहरूले ओठ फर्काएर स्नेहताको च्यादर ओढाउने गर्छन्, औपचारिकताको शीतलहरबाट छुटकारा दिलाउन । बौद्धिक तप्कादेखि लिएर सिर्जनशील जमातसम्म अशक्तता लिएर हिँड्नेहरूप्रति एकाङ्गी दृष्टिकोण फ्याँक्नसमेत हिचकिचाउँछन् । सामाजिक, बौद्धिक, पारिवारिक तथा प्रशासनिक दुव्र्यवहारका असहनीय पीडा झेल्न नसकेर यो रचना जन्मेको हो । म जिउँदो चिता हुँ, अनि ममाथिको चिन्तन हो धरातलीय दृष्टिकोण ।
रोग, भोक, अशिक्षा र गरिबीले अविकसित राष्ट्रको टाउको खाइरहेछ । जनमुखी सत्ता, जनशासित सत्ता अहिलेसम्म कायम नहुनुका पछाडि गुट र पार्टी स्वार्थ नै मुख्य केन्द्रीय कारक बन्न पुगेको छ । राष्ट्रप्रति उत्तरदायी हुने नेतृत्व गरिब देशहरूले पाइरहेका छैनन । यही दरिद्रताले राष्ट्रिय अखण्डता र भौगोलिकतालाई नै चुनौतीग्रस्त बनाइदिएको छ । तानाशाहहरू २१ औं शताब्दीको अन्त्यसम्म आइपुग्दा पनि समाप्त भइसकेका छैनन । प्रजातान्त्रिक नौटङ्कीमा अनेकौँ घिन लाग्दा खेलहरू भइरहेछन । जतिसुकै जनताप्रेमी भनिए पनि जनतामाझ सत्ता पुगिरहेको छैन । जहाँ जनतालाई भकुन्डो बनाइन्छ त्यहाँ शासक, शासक नभएर खेलाडी हुन्छन् । सामान्य सिद्धान्त के मानिन्छ भन्दा खेलाडीले केवल खेल मात्र खेल्न जान्दछ, शासन चलाउन जान्दैन । यही दुर्भाग्यपूर्ण अयोग्यता भएका दुष्टमुखी शासकीयताले दुखिरहेका जनताले दुःख भोगिरहेका छन् । सुधारवाद, उदारवाद, जुनसुकै वाद भनिएपनि आखिर व्यवहार एकै हुन्छ : सामन्तवाद । राष्ट्रको राजधानीमा जबसम्म समान्तवादी पुगिरहन्छन, तबसम्म जनताका झुपडीहरू भोकभोकै छटपटाउन विवश हुन्छन् । यसको प्रस्ट उदाहरण यत्रतत्र सर्वत्र देखिरहिएकै छ । यो सामान्य रचनागर्भमा ती सम्पूर्ण अभिशापित पक्ष समेट्न गाह्रो छ ।
हाम्रा नेता भनाउँदाका गाडी, बङ्गला प्रशस्तका प्रशस्त भइसके । तिनीहरूले बिसौँ पुस्तासम्मलाई पुग्ने सम्पत्ति जोहो गरिसके । जनता भने उसिनेको पिँडालु खान नपाएर सडकमा थोत्रो थाली फिँजाइरहेछन् । शताब्दीले २२ औँ खुड्किलो पदार्पण गर्न लाग्दा पनि हाम्रो गति भने त्यस्तै छ, जस्तो १९ औँ शताब्दीका नागरिकको थियो । बहुदलीय प्रजातन्त्रमा नेपाल राष्ट्रका नागरिक निकै नै आशावादी थिए । नेतृत्व पङ्क्तिको धारिलो भाषणले गुलियो सपना बाँडेको थियो । त्यो मिठो दिवास्वप्न क्षणभरमै तितेपातीका झोलमा परिणत हुन पुग्यो र त्यो पनि मलमूत्र मिश्रित । त्यो दुर्गन्धित महŒवाकाङ्क्षाको सिकार हामीलाई किन बनाइन्छ नाजायाज ढङ्गले ? हामीले स्वतन्त्र अधिकार सम्पन्न भएर वाँच्ने हैसियत यी चोरका खन्तीहरूले किन लुटिरहेछन् ? प्रजातन्त्र, लोकतन्त्र हुँदैहुँदै गणतन्त्रसम्म आइपुग्दा पनि घाम यिनीहरूका घैँटामा मात्र लागेको छ ।
जनताका झुप्राहरू ओभाना भएका छैनन् । गणतान्त्रिक यी मुसाहरूले राष्ट्रको ढुकुटी हर सेकेन्ड,हर मिनेट ओसारिरहेछन्, थुपारिरहेछन्,कुटुकुटु खाइरहेका छन् । जनता भने पुस, माघको हिउँका ढिकामा नाङ्गेझार भएर आगो मागिरहेछन । महँगीले ओत लाउने ठाउँ कतै छैन । एक ढिको नुन नपाएर ती बबुराहरूको जिब्रो सुकेको छ । आखिर नेपाली जनता यो भयानक अमानवीयताको सिकार कस्तो तन्त्र आउँदासम्म भइरहने ? के यसको सापेक्षित उत्तर सिंहदरबारले दिनसक्ला ? राष्ट्रियताका सबालमा पनि यिनै नाजुक शब्दहरूले ज–जस्ले बोले तिनैलाई बोध गरेर म यो सिर्जना जन्माउन कटिबद्ध भएँ । मलाई लाग्दैन मेरो कलम अनियन्त्रित मोडतर्फ गयो । साँच्चै नै अब पनि सन्तबहादुर नजाग्ने हो भने सिंहदरबार तानसाहकै रखेल हुन सक्छ । यसतर्फ सचेत जनता सचेत हुन जरुरी छ ।
(इटहरी ९ निवासी सापकोटा कवि झमक घिमिरे भन्दा जन्मजात विकट विकलाङ्गता भएका तर सिर्जनात्मक क्षमताका अद्भूत प्रतिभा हुन । पूर्ण रुपमा अरुकै सहारामा बाँच्न विवश फुसफुस गरेर मुस्किलले बोल्दा थुक उछिटिन्छ, अनि नयाँ मानिसले बोलेको पनि बुझ्दैनन । सदा सुनिरहने बुझेर लेखिदिँदा मात्र सिर्जना लिपिबद्ध हुन्छन । नागरिक समाज इटहरीद्वारा हालै प्रकाशित नागरिक सन्देशमा छापिएको सापकोटाको सिर्जना सन्दर्भ ः रचना गर्भबाट सम्पादित अंश प्रकाशित गरिएको छ । सम्पादक )













प्रतिक्रिया दिनुहोस्