जनता टाइम्स

२ आश्विन २०७८, शनिबार १२:१४

मानव तस्कर मुद्दामा यसरी मुछिएका थिए सांसद विमला वलीको परिवार र सहयोगी


काठमाडौँ, २ असोज । अदालतले कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएका संगठित मानव तस्करीका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउलगत्तै छाडेको तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले गम्भीर प्रकृतिको फौजदारी कसुरमा कैद सजाय तोकिएका टोपबहादुर जीसीलाई शक्ति केन्द्रको दबाबमा छाड्नुभएको हो  ।

जीसी नछुटेको भए दाङका तीनसहित ७ नेपाली बेपत्ता हुने थिएनन् । अवैध बाटोबाट अमेरिका जाने क्रममा गत असार ७ गते क्यारेबियन सागरमा भएको डुंगा दुर्घटनामा परेर उनीहरू हराएका हुन् । टोपबहादुर मध्यपश्चिमका युवालाई अवैध रूपमा अमेरिका छिराउने संगठित मानव तस्करीको गिरोहका मुख्य सदस्यका रूपमा प्रहरीले पछ्याइरहेका व्यक्ति हुनुहुन्हुन्छ । उहाँले दाङ तुलसीपुरका नरेन्द्र बस्नेतलाई २०७३ चैतमा ७० लाख लिएर अमेरिका छिराइदिने भन्दै घरबाट हिँडाउनुभएको थियो । अनेकन दुःख सहँदै गैरकानुनी रूपमा १३ देशको सीमा छिचोलेर नरेन्द्र अमेरिका त पुग्नुभयो तर पक्राउ परिहाल्नुभयो ।

१७ महिना हिरासतमा बसेपछि अमेरिकी अध्यागमनले उहाँलाई नेपाल फर्काइदियो । ७६ लाख खर्च गरिसक्नुभएका उहाँ रित्तो हात फर्केपछि टोपबहादुर, लुम्बिनी प्रदेश सांसद उत्तरकुमार वली र उहाँका सहयोगी मुकुन्दराज जीसीविरुद्ध प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जाहेरी दिनुभयो । त्यही जाहेरीका आधारमा चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७६ असार ४ मा फैसला सुनाउँदै टोपबहादुरलाई १५ लाख धरौटी र मुकुन्दराजलाई २ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दियो । प्रदेश सांसद उत्तरकुमारको भने सडक दुर्घटनामा मृत्यु भइसकेकाले अदालतले केही आदेश दिएन ।

धरौटीमा छाड्ने आदेश दिएको १९ महिनापछि जिल्ला अदालत काठमाडौंले टोपबहादुरलाई २ वर्ष कैद सजाय र १२ लाख रुपैयाँ क्षतिपूर्ति तथा मुकुन्दराजलाई १ वर्ष कैद सजाय हुने फैसला गर्‍यो । उत्तरकुमारको मृत्यु भइसकेकाले उनकी श्रीमती विमलाकुमारी वलीबाट २५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला थियो । विमलाकुमारी अहिले लुम्बिनी प्रदेशकी सांसद हुनुहुन्छ । फैसलाको १२ दिनपछि माघ २ मा जिल्ला प्रहरी कार्यालय दाङले टोपबहादुरलाई पक्राउ गर्‍यो । तर फौजदारी कसुरमा सजाय तोकिएका उहाँलाई पक्राउ परेकै दिन एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको जमानीमा छाडिदिनुभयो । फौजदारी कसुरका अभियुक्तलाई प्रहरीले पक्राउ गरेर पनि छोडिदिएको समाचार सुरुमा अनलाइन पोर्टल उकेरा डटकमले सार्वजनिक गरेको थियो । कान्तिपुरबाट