जनता टाइम्स

६ असार २०७६, शुक्रबार १२:३४

सञ्चारमन्त्री बाँस्कोटाले एउटा फोटो देखाउदै सांसदलाई प्रश्न गर्नुभयो– ‘हाम्रो सभ्यता र स्वतन्त्रता यही हो ?’


काठमाडौं ।

शुक्रबार सिहदरवारमा संसद अन्तर्गतको विकास समितिमा एक गम्भिर विषयमा छलफल चल्यो । अहिले बहसमा रहेको सूचना तथा प्रविधि विधेयकमाथि छलफल चलिरहदा नेपाली कांग्रेसका सांसदले यसलाई सच्याउनुपर्ने बताउनु भयो ।

विधेयक संसदमा पेश गर्नुहुने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटापनि उपस्थित हुनुहन्थ्यो । कांग्रेसकी सांसद रंगमती शाही, रामबहादुर बिष्टले यो विधेयक विवादस्पद भएकाले छलफल अगाडी बढाउनुपर्ने बताउनु भयो । सांसद शाहीले ‘छोराछोरीले मोबाइल चलाउँदा कहीँ थिचिदिएकै भरमा बाबु आमा जेल पर्ने अवस्था कानुनले’ सिर्जना गरेको बताउनु भयो । उहाले यो विषयलाई प्रष्ट भएर जानुपर्ने र कति पटक सहुलियत दिने भन्ने छुट्याउनुपर्ने माग राख्नुभयो ।

बैठकमै मन्त्री बाँस्कोटाले मोबाइल निकाल्नु भयो र सांसदहरूलाई एउटा स्क्रिट सट देखाउनु भयो । जसमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडिएको थियो। फेसबुकमा पोस्ट भएको उक्त फोटोमा लेखिएको पोस्ट सांसदहरूलाई उहाले पढेर नै सुनाउउनु भयो । जहा लेखिएको थियो, ‘हजुरलाई केपी ओली र म भएर षड्यन्त्रपूर्वक हत्या गरेका हौं। त्यही भएर केपी ओली प्रधानमन्त्री र म राष्ट्रपति भएको छु। हजुरले चिन्ता गर्नु पर्दैन। हजुरको अभावको पूर्ति केपी ओलीले गर्नुभएको छ। हजुरको षड्यन्त्रपूर्वक हत्या गरेकोमा मलाई माफ गर्नुहोला।’ यत्ति पढेर सुनाएपछि मन्त्री बाँस्कोटाले समितिका सभापति र सदस्यलाई प्रश्न गर्नुभयो, ‘हाम्रो सभ्यता र स्वतन्त्रता यही हो ?’ उहाले सरकारले ल्याएको विधेयकमा भएका व्यवस्था यस्ता विषयमा आकर्षित हुने जानकारी गराउनु भयो ।

सञ्चार मन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयक मिडियासँग सम्बन्धित नरहेको बताउनु भयो । उहाले विधेयकले समाजलाई अनुशासित बनाउने भनाई राख्नुभयो । ‘अनुशासित समाजको अर्थ स्वतन्त्रतारहित समाजको कल्पना होइन,’ बाँस्कोटाले भन्नुभयो, ‘समाजलाई स्वतन्त्र अनि मर्यादित बनाउने कोणबाट विधेयक आएको छ।’ उहाले भन्नुभयो, ‘स्वतन्त्रतता छ। व्यक्तिगत आलोचन गर्न पनि पाइन्छ तर जथाभावी भन्न बोल्न नमिल्ने कुरा गर्न छुट हुन्न, कसैलाई कोही मन पर्‍यो भनेर सामाजिक सञ्जालमा जथाभावी गर्न पाइन्न। जात्रामा सिन्दुर हालेर भाग्नेजस्तो गरेर हुन्न।’

बैठकमा नेकपाका सांसदहरुले भने विधेयकका विषयमा कुनै छलफल नगरी पारित गर्नुपर्ने बताउनु भएको छ । समितिले आगामी बैठकबाट विधेयकका विषयमा निर्णय गर्ने बताइएको छ ।