Untitled Document

एनआरएनएलाई धनी मात्रको संस्था नबनाई सबैको साझा र बढी डेमोक्याटिक बनाउन मेरो उम्मेदवारी : हरि पौडेल, उम्मेदवार, युरोप संयोजक, गैर आवासीय नेपाली संघ

गैर आवासीय नेपाली संघको युरोप संयोजकमा नेदरल्याण्डका पुर्व अध्यक्ष हरी पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । गैर आवासीय नेदरल्याण्डको संस्थापक सदस्यसमेत रहनुभएको पौडेल लामो समय देखि गैर आवासीय नेपाली संघको अभियानमा सहभागि हुँदै आउनुभएको छ ।

बिगत तीन दशक देखि सवपरिवार नेदरल्याण्डमा रहदै आउनुभएको पौडेलले गैर आवासीय नेपाली संघको अभियान बाहेक अरु पनि सामाजिक संघ सस्थाहरुमा आबद्ध भई नेपाली जनताको हरेक दुखमा साथ दिदै आइरहनुभएको छ । गैर आवासीय नेपाली संघ नेदरल्याण्डको २००९ र २०११ को सफल कार्यकाल जिम्मेवारीपुर्वक पुरा गर्नुभएको पोडेल अहिले पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

गैर आवासीय नेपाली संघको युरोप संयोजकको पदमा २०१७ –२०१९ कार्यकालका लागि उम्मेदवारी घोषणा गर्नुभएको पौडेलसँग जनता टाईम्सका लागि किरण बुढाथोकीले उम्मेदवारी र विविध विषयमा केन्द्रित रहेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, युरोप संयोजकका उम्मेदवार पौडेलसँगको कुराकानीको सम्पादीत अंश ।

तपाईले एनआरएनए युरोप संयोजकको पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।  सयोजकमा नै उम्मेदवारी किन ?  

म आफै युरोपमा बस्ने हुनाले युरोपमा बसोबास गर्नु भएका गैर आवासीय नेपालीहरुले भोगेका समस्यालाई नजिकबाट देखेको छु । यहाँ विभिन्न संघ संस्थामा म आफै आवद्ध भएकोले युरोपमा भएका बिभिन्न कार्यक्रममा भाग लिई रहने हुँदा यहाँ बसोबास गर्नु भएका धेरै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई राम्रो सँग नजिकबाट चिन्दछु । खास भन्ने हो भने मैले यहाँ भएका समस्याहरुको बारेमा धेरै पटक गैरआवासिय नेपाली संघका जिम्मेवार ब्यक्तीहरुलाई ध्यानआकर्षण गराउन खोज्दा पनि कुनै महत्व नदिएका हुनाले ति समस्याको केही समाधान गर्न सक्छु कि भनी मैले युरोप संयोजक पदमा उम्मेदवारीको घोषणा गरेको हो ।

तपाईले उम्मेदवारी घोषणा गरिरहँदा तपाईका चुनावी एजेन्डा के–के छन् ?

चुनावी एजेण्डा धेरै छन ति मध्ये केही महत्वपूर्ण एजेण्डाको यहाँ चर्चा गर्न चाहान्छु । हामी गैर आवासीय नेपालीहरु तन, मन र सकेसम्म धनले कसरी नेपालको उन्नती गरौं भन्ने कुरामा धेरै जसो लागेका हुन्छौ । हाम्रो मन सधैं नेपालतर्फ नै रुमलीएको हुन्छ । आफु जन्मेको देशमा आपत्त विपत आइपरयो भने हृदय खोलेर मद्धत गर्न तयार हुन्छौ । यो गर्नु पर्छ र यो हाम्रो कर्तब्य पनि हो । तर आफ्नो देश,आफ्ना परिवार तथा प्रिय जन छाडेर विदेशमा बस्ने यि नेपालीहरु, गैर आवासीय नेपाली संघको जग हो, जसलाई साच्चै भन्ने हो भने बिर्सिएको छ ।

मेरो भन्नुको अर्थ यहाँँ बसोबास गर्नु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुका पीर मर्का, यहाँ भएका बिभिन्न समस्यालाई नजर अन्दाज गरिएको छ । कती साथीहरु यस्ता पनि छन कि न यहाँ बस्ने अवस्था छ न फर्केर जाने अवस्था छ । उनीहरुको समस्या गैर आवासीय संघले नसुनिदिए कस्ले सुन्ने ? त्यसर्थ अब गैर आवासीय संघका बिभिन्न निकायलाई यस विषयमा ध्यानआकर्षण गराउन सक्छु कि भनी आँफै यो जिम्मेदारी लिन तम्सेको छु ।
अर्को, एजेण्डाको महत्वपूर्ण कुरा आउने गैर आवसीय नेपाली संघको हामी पहिलो पुस्ता हौं ।

यसलाई अझै फराकिलो बनाउन सकिन्छ, अझै बढी डेमोक्राटिक बनाउन सकिन्छ । यसलाई धनी मात्रको संस्था नबनाई सबैको साझा र बढी डेमोक्याटिक बनाउने योजना म सँग छ ।

मेरो छोरा छोरीहरु डच मात्रै बोल्छन, जर्मनीका साथीहरुको छोरा छोरीहरु जर्मन मात्र बोल्छन, रसियाकाले रसियन मात्र बोल्छन भने आउँने जेनेरेशनलाई यो गैर आवासीय नेपाली संघको किन महत्व हुन्छ ? यस बिषयमा हामी अहिले गम्भिर भएनौ भने भारतीय एनआरआइ हराए जस्तै हाम्रो यो संस्था पनि अस्तित्वहिन हुन्छ । आउने नयाँ जेनेरेशनलाई कसरी यस संस्थामा आवद्ध गराउने भन्ने मसँग योजना छ ।

२००८ देखी मिडियाले यदा कदा प्रश्न चिन्ह राख्दै आएको थियो कि यो संस्था धनीहरुको मात्र क्लब हो भनी । मिडियाकोे यस आरोप प्रति मेरो असहमती थियो । तर अब म आफै संशाकीत छु कि मिडिया नै सहि हो कि भनेर । यसलाई अझै फराकिलो बनाउन सकिन्छ, अझै बढी डेमोक्राटिक बनाउन सकिन्छ । यसलाई धनी मात्रको संस्था नबनाई सबैको साझा र बढी डेमोक्याटिक बनाउने योजना म सँग छ । अरु विशेष एजेण्डा चाडै मिडियामार्फत ल्याउने नै छु ।

एनआरएनएमा तपाईको प्रवेश र हालसम्म कुन कुन पदमा बसेर काम गर्नुभयो अर्थात तपाईको एनआरएन अभियानमा कहिलेदेखि किन संलग्न हुनुभयो ? 

२००५ देखी म एन आर एन को अभियानमा आबद्ध छु । एनआरएनको स्थापना हुनु अगाडि देखी नै म सधैं विदेशमा बसेर पनि सामाजिक संस्थामा नै आबद्ध थिए । नेदरल्याडमा पहिलो नेपाली संस्था (नेपाल समाज नेदरल्याण्ड) खोल्नमा सफलता मिल्यो । त्यसपछि नेपाल डेभेलोपमेन्ट एकेडेमी भन्ने खोलियो जसको करिब ४ करोडको प्रोजेक्ट पोखरामा आमा घर भन्ने अहिले पनि चलिरहेको छ ।

एनआरएन त धेरै पछि २००५ मा लेदरल्याडमा खोले देखी आबद्ध छु । एनआरएन नेदरल्याडको विभिन्न पदमा काम गर्दै २०१० मा प्रेसिडेन्ट भए । एनआरएन महासंघको एउटा टाक्स फोर्समा जिवाजी साथै अन्य साथीहरुसँग काम गरेको थिए, अहिले सम्झना भएन ।

तपाईको विचारमा एनआरएनका अहिलेका चुनौती के छन् ? 

एनआरएनको चुनौतीहरु धेरै छन तर महत्वपूर्ण चुनौती भने एनआरएनले लिएको अभियान ’एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हो भन्ने मलाई लाग्छ ।

तपाईलाई विश्वभरका एनआरएनले कसरी चिन्ने ? 

एउटा साधारण ब्यक्तिको रुपमा जो सत्य बोल्न नडराउने र एन आर एन धनीहरुको मात्र संस्था नहोस भन्नाका लागि अभियान चलाउन सक्रिय भई सम्य ब्यक्तीको रुपमा मलाई चिनेका छन र नचिन्नेले त्यसरी नै चिन्नेछन।

नेपालको अािर्थक सम्बृद्धिका लागि एनआरएनले के कस्ता काम गर्नुपर्ला ?

विदेशबाट सिकेका सिपलाई नेपालमा भित्र्याउदै देशको आर्थिक उन्नती होस् भन्ने भावनालाई जोगाउँदै स्वदेशमा भएका सम्भावनाहरुमा लगानी गर्ने, देशको आर्थिक स्थिती सुधार्ने हेतु राख्ने, रोजगारी बढाउनको लागि नेपाल सरकारले पनि लगानी गर्ने र गैर आवासीय नेपालीहरुलाई उद्योगधन्दा खोल्नको लागि विशेष सुविधा दिई स्वेदशमै लगानी गर्नको लागि आर्कषीत गर्ने योजना बनाउन आवश्यक छ ।

अन्तमा के भन्नुहुन्छ ?

युरोपका गैर आवासीय नेपाली दाजुभाई दिदी बहिनीहरुलाई भन्न चाहन्छु कि यहाँहरुको मत धेरै महत्वपूर्ण हुन्छ । त्यसकारण आफ्नो मतको प्रयोग ब्यक्तिको योग्यता देखेर गर्नुहुन आग्रह गर्न चाहान्छु । सही ब्यक्तिलाई जाती आधारमा, धर्मको आधारमा वा आफ्नो राजनीतिक विचार मिलेको आधारमा आफ्नो मत दिनुहुन्छ भने त्यो बालुवामा पानी हालेको बराबर हुने भएकाले तपाइको मतको सदुप्रयोग हुने गरि मत दिई सहयोग गर्न हुन हार्दिक आग्रह गर्न चाहान्छु ।
धन्यवाद ।

 

७ आश्विन २०७४, शनिबार ०१:१८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *