जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १८:४९

इश्वर पोखरेलको भावुक सम्बोधन : मरेर जानेहरूले देखेको सपनालाई बाँच्नेहरूले आँखामा साँचिरहनुपर्छ


सुनसरी, साउन ७ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अव बर्तमान सरकारको काममा तीब्रता आउने ठोकुवा गर्नुभएको छ । धरान उपमहानगरका मेयर तारा सुब्बा स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा उहाँले सो उदघोष गर्नुभएको हो ।

सरकार मात्र परिवर्तन नभइ प्रणालीनै परिवर्तन भएकाले नयाँ प्रणाली अनुकुलका कानुन, नीति र संरचना निर्माण भइरहेकाले जनचाहना अनुरुप सरकाले डेलिभरी दिन समय लागेको उहाँको भनाई थियो । ‘एक बर्षको अवधिमा कानुन, नीति र संरचना निर्माण भएर आधारस्तम्भ तयार भएको छ, अव सरकारले गति लिन्छ,’ रक्षामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

उहाँले पार्टीको घोषणापत्र र सरकारको नीति तथा कार्यक्रमअनुरुप सरकारले विकास र समृद्धिमा फडको मार्नेमा ढुक्क हुनसमेत आग्रह गर्नुभयो । उहाँले तारा सुब्बा सजिलो अवस्थामा मात्र नभई अप्ठयारो अवस्थामा पनि चम्कन सक्ने ब्यक्तित्व भएको वताउनुभयो । स्वर्गीय सुब्बाको सपनाको रक्षा गर्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड छ । ‘मरेर जानेहरूले देखेको सपनालाई बाँच्नेहरूले आँखामा साँचिरहनुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । सुब्बा भौतिक रूपमा यो संसारमा नरहेपनि विचार र कर्मले बाँचिरहेको वताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्याहाडले तारा सुब्बा विद्यार्थी समयदेखिनै असल ब्यक्तित्व रहेको वताउनुभयो । मुख्यमन्त्री शेरधन राईले तारा सुव्वाले देख्नुभएको धरानलाई स्मार्टसिटि वनाउने सपना पुरा गर्ने जिम्मेवारी प्रदेश र स्थानीय सरकारको काँधमा आएको वताउनुभयो । कार्यक्रममा सभामुख प्रदीप भण्डारी, प्राडा टंक न्यौपाने, डा भीम खतिवडा,सांसद जयकुमार राई, नेकपा सुनसरी सचिव रमेश वस्नेतलगायतले तारा सुव्वाको योगदानको चर्चा गर्नुभयो ।