जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार २०:५४

व्यक्तिलाई निषेध गर्ने कांग्रेसको तरिका सही छैन : महेश बर्तौला


काठमाडौं, २५ बैशाख । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति लक्षित गरी संसदीय समितिको माग गरेको भन्दै छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनुभएको छ । सभामुख आज देवराज घिमिरेले दलका शीर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो बताउनुभएको हो ।

उहाँले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्नेकुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताउनुभयो । तर अरुलाई निषेध गर्ने तरिकाबाट प्रस्तुत हुने कुरा राम्रो नहुने उहाँको भनाइ थियो । बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्नपर्ने बताउनुभयो । गृहमन्त्रीमाथि उठेका प्रश्नको जवाफका लागि सदनमा बोल्न दिनुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो,‘कांग्रेसले व्यक्ति विशेष गृहमन्त्री लक्षित मात्रै समितिको कुरा राख्नुभएको छ । त्यो कुरा सम्भव छैन । समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउने र भइरहेकै समितिमार्फत काम गर्ने कुरा अस्वीकार्य छैन । फलानो व्यक्ति दोषी छ, फलानो व्यक्ति केन्द्रित गरिएको छ, भन्ने कुरामा हाम्रो सहमति छैन ।’