जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार १४:३६

संसदमा टाँसियो सभामुखको राजीनामाको सूचना : काम लागेन चलाखी, पदमुक्त भए महरा


काठमाडौं, असोज १५ । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको हो । महराले मंगलबार उपसभामुख तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गर्नुभएको थियो । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।

यो सूचनासँगै सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ । नेकपाले हिजै महरालाई राजीनामा दिन निर्देशन दिएको थियो ।