जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार १५:४१

इटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको मुद्दामा आइजीपीसहित ६ प्रहरी अधिकृत नै बसे साक्षी


काठमाडौं कात्तिक २० । स्थानीयबासीले हिन्दी सिनेमा शोलेका खलनायक गम्बर सिंहको उपमा दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दामा तात्कालिन प्रहरी महानिरीक्ष नै साक्षी बसेका छन । १२ बर्षअघि बम बनाउने क्रममा बिष्फोट भई घाइते भएका र मृतकलाई इटाभट्टामा हालेर जिउँदै जलाइएको घटनामा प्रहरी महानिरीक्षकलाई नै साक्षी राखिएको हो ।

आईजिपीलाई साक्षी बनाएर मुद्दा दायर गरिएको यो पहिलो घटना हो । अन्य पाँच जना प्रहरी अधिकारीहरुलाई समेत साक्षी बनाइएको छ । आलमबिरुद्धको मुद्दामा ३५ भन्दा धेरै साक्षी रहेका छन् । १२ वर्षअघि रौतहटको राजापुरमा भएको त्यो क्रुर हत्याकाण्डको बेला घटनाको बेला ओमबिक्रम राणा प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो । हत्याकाण्डका नाइके रहेका आलमलाई पक्राउ गरी अनुसन्धान सकेर अदालतमा मुद्दा दायर भइसकेको छ । आलमले त्यसबेला रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपाने र सशस्त्र प्रहरीका एसपी रामकृष्ण लामालाई हातमा लिएर घाइतेहरुलाई ईटा भट्टामा जलाएर बम बिष्फोटको घटना लुकाउने प्रयास गरेका थिए ।

आलम विरुद्ध पछि हुलाकमार्फत जाहेरी दर्ता भएपछि मात्र सत्ताको दुरुपयोग गरी मुद्दा नचल्ने निर्णय गराउन उनी सफल भएका थिए । तर, अहिले आएर उनी कानूनको फन्दामा परेका छन् । पछिल्लो समय नेपाल प्रहरीले अघि बढाएको यो कार्वाहीले जतिसुकै लुकाउन खोजेपनि अपराध लुक्दैन भन्ने प्रष्ट सन्देश गएको छ । त्यतिखेरको त्यो क्रुर घटनाको वास्तविकता बाहिर आएपछि धैरेले उनलाई हिटलरभन्दा पनि निर्दयी व्यक्ति भनेका छन् । किनकी घाइतेहरुलाई सुई लगाएर बेहोस बनाई उनले भट्टामा हालेर जलाएका थिए ।

उनीबिरुद्ध बाँचुञ्जेल जेल राख्नुपर्ने मागदाबीसहित मुद्दा दायर भएको छ । १२ वर्षअघिको घटना भएपनि प्रशस्त प्रमाणहरु जुटाएर प्रहरीले मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै जिल्ला अदालत रौतहटमा आलमको बयान लिने काम भइरहेको छ । बयानको क्रममा आलमले त्यसबेला प्रयोग गर्ने मोवाइल नम्बरसमेत आफूलाई जानकारी नभएको बयान दिएका छन । घटना घटेको प्रमाणित भइसक्दा पनि गब्बर सिंहको नामले चिनिने आलमले इन्कारी बयान दिएका छन ।