जनता टाइम्स

१० मंसिर २०७६, मंगलवार १८:३६

तराई–मधेशको मुहार फेर्ने गरी काम थाल्ने अध्यक्ष प्रचण्डको घोषणा, बाराबाटै सुनाए यस्तो योजना


बारा, मंसिर १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दहाल, प्रचण्डले तराई मधेशको समस्या समाधान गर्नका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

बाराको निजगढमा नेकपाको बृहत् सभा तथा प्रदेश नं २ का राष्ट्रिय गौरवका योजनाहरुलाई कार्यान्वयन गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो अठोट गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले केही वर्ष पहिला मधेशसँग परेको ‘लभ’लाई सानदार ढङ्गले निभाउने भन्दै मधेश र मधेशीको दुःखहरु सदाका लागि समाप्त गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो ।

तराई मधेशको विकासका लागि सङ्घीय सरकारसमेत लागिपरेको बताउँदै आफूले पनि सरकारलाई दबाब सिर्जना गर्ने बताउनुभयो । बाटोघाटो, शिक्षा, स्वास्थ्य, सिँचाइ, मलखादको प्रबन्ध गर्नका लागि आफू पूर्णरूपमा कटिबद्ध रहेको बताउँदै अध्यक्ष प्रचण्डले चाँडै नै मधेशको मुहार फेर्ने गरी कामको थालनी गर्ने घोषणा गर्नुभयो । तराई मधेशमा विकास र समृद्धि नभई मुलुकको विकासले फड्को नमार्ने बताउँदै समृद्धिको यात्रातिर लम्कने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

तराई मधेशको ‘लाइफलाइन’ भनेको हुलाकी राजमार्ग रहेको भन्दै त्यसका कामहरु पनि तीव्ररुपमा गर्ने उहाँले बताउनु भयो । आफू प्रधानमन्त्री हुँदा द्रुतमार्गको शिलान्यास गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अहिले नेपाली सेनाले सो कामलाई तीव्ररुपमा अगाडि बढाइरहेको देखेर म निकै खुशी भएको छु ।’ अन्तर्राष्ट्रिय विमानस्थल बारामा नै बन्ने ठोकुवा गर्दै अध्यक्ष दहालले टङ्गिया बस्तीको व्यवस्थापन निकै चुनौती भए पनि त्यसलाई चाँडै नै व्यवस्थापन गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम शुरु गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो ।