जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १२:४४

एयर ट्राफिक जाम हटाउन नयाँ नीति : अव साना जहाजलाई जहाँ बेस अनुमति त्यहीँ नै बास


विराटनगर, कात्तिक १७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पहाडी क्षेत्रमा उडान भर्दै आएका साना जहाजलाई काठमाडौं प्रवेश नगराउने नीतिको गृहकार्य भइरहेको खुलासा गर्नुभएको छ । विराटनगर विमानस्थलको विकास र विस्तारका लागि विराटनगरमा आज आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री भट्टराईले अब साना जहाजका बेस प्रदेशका विमानस्थलमा हुने प्रष्ट पार्नुभयो ।

‘साना जहाज समेत काठमाडौंमा राख्दा एयर ट्राफिक जाम भयो, हामी साना जहाजलाई काठमाडौं बाहिरबाट पहाडी क्षेत्रमा उडान गराउने नीति बनाउँदैछौं,’ मन्त्री भट्टराईले भन्नुभयो, ‘यस्तो ब्यवस्था गर्दा प्रदेशको विकासमा सघाउ पनि पुग्नुको साथै काठमाडौंमा एयर ट्राफिक जाम समेत घट्छ ।’ काठमाडौं ओर्लिएर पहाडी क्षेत्रमा जाने यात्रु तथा पर्यटक साना जहाज चल्ने प्रदेशका विमानस्थलसम्म पुग्न सडक मार्गको व्यवस्थापन गर्दै यो प्रक्रियालाई सहज बनाइने जानकारी पनि उहाँले दिनुभयो ।

साना जहाज काठमाडौं बाहिरबाट चल्ने प्रक्रियाको सुरुवातस्वरुप अहिले लुक्लाका लागि पहिलो उडान र अन्तिम अवतरणबाहेक सबै उडान मन्थलीबाट भइरहेको उहाँले जानकारी दिनुभयो । ‘हामीले यसको अभ्यास समेत गरिसकेका छौं, बास बस्ने बाहेकको दैनिक ५०÷६० उडान अहिले मन्थलीबाट लुक्लाका लागि हुन्छ, यसले एयर ट्राफिक घटाउनुको साथै मन्थलीको विकासमा सघाउ समेत पुर्याएको छ,’ पर्यटन मन्त्री भट्टराईले भन्नुभयो । उहाँले अब सबै साना उडान यसरी नै गर्ने तयारी सरकारले गरिरहेको बताउनु भयो ।

पर्यटन मन्त्री भट्टराईले काठमाडौं बाहिरका विमानस्थलमा (बेस) बास बस्ने अनुमति लिएका वायुसेवा कम्पनीलाई अनुमति लिएकै बेसमा बस्नुपर्ने जनाउ पनि दिनुभयो । काठमाडौं बाहिर बेसको अनुमति लिएका एयरलाइन्सले समेत विभिन्न बहान बनाएर राती काठमाडौं पुग्ने गरेको बताउँदै अब अनुमति लिएको स्थानमा नबसे सरकारले कारवाही गर्ने उहाँको भनाई थियो । ‘अब आनाकानी चल्दैन, जहाँ बेस भनिएको छ, त्यहीँ बस्नुपर्छ, बस्ने पूर्वाधार र स्थानको व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ, यसमा हामी कडाई गर्दैछौँ,’ मन्त्री भट्टराईले भन्नुभयो ।

विमानस्थलमा बस्ने स्थान, क्षमता कम, अन्य आवश्यक संरचना र सुविधा नभएको कमजोरी देखाउँदै काठमाडौं फर्कने एयरलाइन्स धेरै रहेकाले यसको तथ्यांक निकालेर अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । ‘बेस भएका स्थानमा बस्ने व्यवस्थापन प्राधिकरणले गर्छ, यसमा प्रदेश र स्थानीय सरकारले पनि ध्यान दिनुपर्छ, बेस भएकै स्थानमा विमान बसे सो स्थानको प्रदेश र स्थानीय सरकारलाई नै फाइदा हो,’ मन्त्री भट्टराईले भन्नुभयो ।

साना जहाजलाई प्रदेश केन्द्र बनाएर प्रादेशिक र माउण्टेन फ्लाइट गराउने सरकारको तयारी रहेको जानकारी पनि उहाँले दिनुभयो । प्रदेश १ बाट माउण्टेन फ्लाइटको सम्भाव्यता अध्ययन गरी यस्तो फ्लाइट गर्ने कम्पनीसँग संघीय सरकारले छलफल गरिरहेको र यसका लागि प्रदेश र विमानस्थल भएका क्षेत्रका स्थानीय सरकारले पनि चासो दिएर योजना बनाउन उहाँले सुझाउनु भयो । ‘प्रदेश र स्थानीय सरकारलाई उडानमा केही सुविधा दिए विमान कम्पनी प्रोत्साहित हुने र यस्तो उडानमा विदेशी नागरिक आउने भएकाले प्रदेशसँगै स्थानीय तहको आर्थिक विकास हुन्छ, यसमा चासो दिनुहोस,’ मन्त्री भट्टराईले भन्नुभयो ।

पाँच वर्षमा विराटनगर क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल

विराटनगर विमानस्थललाई अबको पाँच वर्षभित्र क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल बनाउने विषयमा काम सुरु भएको जानकारी पनि उहाँले दिनुभयो । प्राधिकरणका इञ्जिनियरले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने विषयमा गुरुयोजना तयार गरेकाले अब जग्गा अधिग्रहण गर्ने विषयमा क्याबिनेटबाट चाँडै निर्णय गर्ने उहाँको भनाई छ । ‘अबको पाँच वर्षभित्र विराटनगर विमानस्थल क्षेत्रीय अन्तराष्ट्रिय बन्छ, तपाईहरु ढुक्क हुनुहोस, गुरुयोजना बन्नुनै यसको सुरुआत हो,’ मन्त्री भट्टराईले भन्नुभयो ।

विराटनगर विमानस्थल मध्यम विमानस्थल बन्ने भएकाले तीन हजार मिटरको धावनमार्ग बन्ने गरी जग्गा अधिग्रहण गर्ने र विमानस्थल भने २५ मिटरको बन्ने उहाँले जानकारी दिनुभयो । यो विमानस्थलको स्तरउन्नती पछि ठूला नभए पनि मध्यम खालका विमानले अन्तराष्ट्रिय क्षेत्रमा उडान गर्न सक्ने उहाँको भनाई छ । ‘हामीले दशकौँ वर्षसम्म विकास गर्ने मास्टर प्लान बनाएका छौँ, पाँच वर्षभित्र क्षेत्रीय अन्तराष्ट्रिय बन्छ, यहाँबाट मध्यम खालका विमानले विदेश पनि उडान गर्न सक्छन,’ मन्त्री भट्टराईको भनाई छ ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विमानस्थलको सुधारका लागि प्रदेश सरकार जस्तो सुकै जिम्मेवारी र भूमिका निर्वाह गर्न तयार रहेको बताउनु भयो । ‘संघीय सरकारले प्रदेशले यो गर्नुपर्यो भनोस, हामी तयार गर्छौं, संघीय सरकाले फुकाउनु पर्ने बाधा र काम चाँडो गरोस,’ मन्त्री भट्टराईले भन्नुभयो ।