जनता टाइम्स

३ पुष २०७६, बिहीबार १८:०६

अर्थमन्त्री खतिवडाको निश्कर्ष : ठूला आयोजना निर्माण गर्न पहाड फोरेर गिट्टी–बालुवा झिक्नु पर्छ


काठमाडौं, पुस ३ । अर्थमन्त्री डा. युवराज खतिवडाले नदीजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठुला परियोजना निर्माण सम्भव नभएको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । ठुला परियोजना निर्माणका लागि पहाड फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्ने धारणासमेत अर्थमन्त्री खतिवडाले राख्नुभएको छ ।

प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा खतिवडाले रणनीतिक राजमार्ग, विमानस्थल तथा रेल्वे निर्माणका लागि नदीजन्य निर्माण सामग्रीले नपुग्ने तथ्य राख्दै वातावरणमा असर नपर्नेगरी ठूला पाहाडहरु फोर्नुको विकल्प नरहेको बताउनु भयो । प्रदेश र स्थानीय तहबीचको बहसका कारण पहाडबाट निर्माण सामग्रीहरु उत्खनन गर्न कठिनाई भएको उल्लेख गर्दै उहाँले यस्तो अवस्था रहिरहे ठुला परियोजनाहरुको निर्माण कार्य प्रभावित हुने बताउनु भयो । एउटा सडक निर्माण गर्न सात–आठ वटा निकायले काम गरिरहेको बताउँदै अर्थमन्त्री खतिवडाले सबै निकाय सडक निर्माणमा केन्द्रीत हुन नहुने धारणा राख्नुभयो । सात सय ६१ वटै सरकार र तीनका सबै मन्त्रालय तथा निकायहरु कुनै न कुनै रुपमा सडक निर्माणमा मात्र केन्द्रीत रहेको बताउँदै अर्थमन्त्री खतिवडाले सडक निर्माणले विकास अस्तव्यस्त बनाएको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले पछिल्लो समय सार्वजनिक खरिद नियमावलीका कारण पनि विकास निर्माण प्रभावित भएको बताउनु भयो । त्यस्तै आयोजनाको प्राथमिकता निर्धारण गर्न नसकिएकोले बजेट खर्च कम भएको उल्लेख गर्दै उहाँले तीन वटै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको औल्याउनु भयो । उहाँले स्थानीय तह र प्रदेश सरकारको बजेट खर्च न्यून भएका कारण पनि विकास खर्च कम देखिएको बताउनु भयो । उहाँले आयातमा आधारित आर्थिक वृद्धि, राजश्व प्रणालीबाट आन्तरिक उत्पादनमा आधारित आर्थिक वृद्धि र आन्तरिक निर्माण सामग्री, आन्तरिक सामग्रीमा आधारीत विकास र त्यसैमा आधारित राजश्व प्रणालीको विकास सरकारले गरिरहेकाले अव दिगो आर्थिक विकासको अधार तयार हुन लागेको तथ्य पनि राख्नुयभो ।