जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार १४:३५

नेपाली भूमिबाटै भारतले बाटो निर्माण गरी ‘उद्घाटन’ गर्नु अत्यन्त दुःखद र आपत्तिजनक : माधव नेपाल


काठमाडौं, बैशाख २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोबार जाने बाटो निर्माण गरी ‘उद्घाटन’ गर्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको बताउनु भएको छ । नेकपाको बिदेश बिभाग प्रमुखसमेत रहनुभएका नेता नेपालले आज बिज्ञप्ती जारी गरी यस्तो बताउनु भएको हो ।

भारतले कोरोना महामारीबिरुद्ध जुधिरहेको बेला नेपाली भुमिबाट मानसरोवर जाने बाटो निर्माण गरी शुक्रवार उदघाटन गरेको थियो । भारतको सो कदमप्रति नेपालमा चर्काे बिरोध भइरहेको छ । नेता नेपालले भारतको यस कामबाट दुई देशका बीचमा यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको हामीले महसुस गरेको बताउनु भएको छ ।

बिज्ञप्तीको पूर्णपाठ

प्रेस वक्तब्य

नेपाली भू–भागसमेत आफ्नै मुलुकको सीमामा राखी भारतले गत नोभेम्बर ४, २०१९ मा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालले त्यसको प्रतिवाद गर्नुका साथै उक्त विषयमा कुरा गर्न विदेश सचिवस्तरीय बैठकका लागि ताकेता गरिरहेकोमा त्यसलाई वेवास्ता गर्दै र विश्व नै कोभिड–१९ महामारीका विरुद्धमा लडिरहेको बेला भारतले नेपाली भूमिबाटै चीनको मानसरोबार जाने बाटो निर्माण गरी ‘उद्घाटन’ गर्नु अत्यन्त दुःखद र आपत्तिजनक छ । यसबाट दुई देशका बीचमा यसअघि भएका सम्झौता र सहमतिहरुको गम्भीर उल्लंघन हुनुका साथै नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको हामीले महसुस गरेका छौँ । अतःहाम्रो पार्टी भारत सरकारको उक्तकदमको तीब्र विरोध गर्दै नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण र प्रयोग नगर्न आग्रह गर्दछ ।

नेपालको पश्चिम पहाडी भू–भाग र भारतबीचको सीमा सन् १८१६ मा सम्पन्न सुगौली सन्धिबाट निर्धारित छ । उक्त सन्धिको धारा ५, त्यसबेला विभिन्न मुलुकहरुले प्रकाशन गरेका नक्सा, ब्रिटिश इन्डिया सरकारका अधिकारीहरुले लेखेका पत्र र अन्य ऐतिहासिक तथ्यहरुले समेत लिम्पियाधुराबाट निस्किने काली (महाकाली) नदी नै दुई देशबीचको सीमानदी हो भन्ने स्पष्ट पारेका छन् । अतःउ क्त सन्धिको प्रावधान र मर्म विपरीत भारतले नेपाली भू–भागलाई आफ्नो नक्सामा राख्नु, अनाधिकृत रुपमा सुुरक्षाकर्मी राख्नु र बाटो निर्माण गर्नु स्वतः सन्धिविपरीत हुन्छ । कालापानीबाट भारतीय सैनिक फिर्ता र राजनीतिक नक्सा सच्याउन हामीले बारम्बार आग्रहगर्दै आएको पनि स्मरण गराउन चाहन्छौँ ।

भारतले राजनीतिक नक्सा जारी गरेपछि उत्पन्न परिस्थितिमा औपचारिक तहमा वार्ता गर्नका लागि नेपाल सरकारले दुई पटक पत्र लेखिसक्दासमेत त्यस विषयमा तदारुकताका साथ वार्ता अघि बढाउनुको साटो नेपालको सार्वभौमसत्ता संकुचन हुने गरी कदम चाल्नुले हामीलाई थप गम्भीर बनाएको छ । यस संवेदनशील विषयमा उच्च राजनीतिक तहमा वार्ता गर्न, नेपालको बैध हकलाई कुनै पनि हालतमा कुण्ठित हुन नदिन, आवश्यक तथ्य–प्रमाणहरुसहित दृढताका साथ प्रस्तुत हुन र आफ्नो भूमि कायम गर्न हामी नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानकर्षण गराउँछौँ ।

कोभिड–१९ काकारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थामामौका छोपेर गरिएको यस्तो कामका बारेमा छलफल गर्न महामारीको अन्त्यनकुरी भिडियो कन्फरेन्सका माध्यमबाट तुरुन्तै कुराकानी गर्न हामी विशेष ध्यानाकर्षण गराउँछौँ । हाम्रो पार्टीका यसअघि सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकबाट यस सम्बन्धमा गरिएका निर्णयहरुलाई ध्यानमा राखेर दृढतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई अनुरोध गर्दै हाम्रो पार्टी आफ्नो मुलुकको सम्पूर्ण भू–भागसहित आधिकारिक नक्सा प्रकाशन गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछ । साथै, आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापनागर्न, सीमाको नियमित रुपमा नियमनगर्न र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुका लागि उचित प्रबन्ध गर्न पनि माग गर्दछ ।

माधवकुमार नेपाल
प्रमुख, बिदेश बिभाग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)