Untitled Document

झापाबाट खनालको उदघोष : भरतपुरमा लोकतन्त्रले हारे पनि नेपाली जनता हारेका छैनन

झापा, असार २३

एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरमा लोकतन्त्र हारेको घोषणा गर्नुभएको छ । सिंगो राज्यसत्ता लागेर प्रचण्डपुत्री रेणुलाई जिताएको तथ्य राख्दै खनालले भरतपुरमा लोकतन्त्रले हारेको ठोकुवा गर्नुभएको हो ।

‘भरतपुरमा लोकतन्त्र हार्यो, मनपरीतन्त्र हाबी भयो,’ झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खनालले भन्नुभयो, ‘मतपत्र च्यातेर दोहोरो निर्वाचन गराउनु नै लोकतन्त्रलाई हराउने सुनियोजित षड्यन्त्र हो । यसपटक त्यहाँ लोकतन्त्रले हारेको छ ।’

अदालतले निर्बाचनका बारेमा गरेको फैसलालाई नै दुर्भाग्यपूर्ण भन्दै खनालले काँग्रेस र माओबादीको गठबन्धनले त्यस निर्णयमा होली खेलेको टिप्पणी गर्नुभयो । ‘लोकतन्त्रले हारे पनि नेपाली जनताले हारेका छैनन्’, खनालले भन्नुभयो ‘एमाले लोकतन्त्रको रक्षार्थ सधैँ तल्लीन रहन्छ, कुनै संझौता गर्दैन ।’ भरतपुरको वडा नं १९ मा यसअघि नै आफूहरुले जितिसकेको भन्दै उहाँले मतपत्र च्यातेर जनतालाई खल्बल्याउने काम भएको बताउनु भयो ।

भरतपुरको निर्वाचनको मौन अवधीमा पनि ११ वटा गाडी चलाइ जथाधाबी गरिएको उनले दावी गरे । ‘दुई वटा गाडीलाई मात्र पास भए पनि ११ वटा गाडी चलाइयो’, खनालले भन्नुभयो । सर्वोच्च अदालतको पुनः मतदान हुनु पर्ने निर्णयप्रति लक्षित गर्दै उहाँले अपराध गर्नेलाई प्रोत्साहन मिलेको बताउनु भयो ।

२३ श्रावण २०७४, सोमबार १३:४८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *